राजनीति

लोकतान्त्रिक आन्दोलनका क्रममा ६ पटक जेल परेका पोखरेल गण्डकीका मुख्यमन्त्री

इकागज |
जेठ २९, २०७८ शनिबार १८:१ बजे

काठमाडौँ : गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा तथा स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

पोखरेल २००६ साल मंसिर १३ गते गोवर्धन र दौर्पदा शर्माको कोखबाट माइला छोराका रूपमा जन्मिएका थिए । उनका जेठा दाजु रामचन्द्र पोखरेल जिल्ला विकास समिति तनहुँ पूर्वसभापति र नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी रहे भनेसाइँला भाइ जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजनाका पूर्वउपाध्यक्ष हुन् । 


७१ वर्षे कृष्णचन्द्रले तनहुँमा जन्मेर विद्यार्थी राजनीति पनि त्यहीबाट सुरु गरेका थिए । २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बनेका पोखरेल प्रजातान्त्रिक आन्दोलनका क्रममा ६ पटक जेल परेका छन् । २०३५ सालको विद्यार्थी आन्दोलनमा कास्की कारागारमा दुई पटक गरेर ५ महिना, २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै तथा २०३८ सालमा निर्वाचनकै क्रममा अर्को २ महिना जेलमा बसे ।

देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले घोषणा गरेको सत्याग्रहमा नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए । २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल ९ महिना पाल्पा जेल बसे । 

२०४८ को अधिवेशनपछि निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति रहेका पोखरेल २०४८ सालको आमनिर्वाचनमा नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । २०६२/६३ सालको जनआन्दोलनमा नवलपुरको कमान्ड सम्हालेका पोखरेल त्यो बेला पनि उनले जेल परे ।

कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पोखरेल २०७० सालको संविधानसभा चुनावमा नवलपरासी क्षेत्र नम्बर ३ बाट ३ सय २५ मतले पराजित भए । संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा पूर्वीनवलपरासी १ (क) बाट कांग्रेस उम्मेदवार बने । एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी उनी गण्डकी प्रदेश सभा सदस्य बन्‍न सफल भए । 

भारतको दरभंगाबाट मानविकीमा स्‍नातक पोखरेल पछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा पनि स्‍नातक गरेका छन् । प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए । त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुन । माध्यमिक शिक्षा विहारको नरकटियागन्जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट उच्चशिक्षाा पछि नेपाल फर्किएका हुन् । 


Author

थप समाचार
x