पाल्पामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहत दिन ठाकुरको माग
फाइल तस्बिर
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पाल्पा रिब्दिकोट गाउँपालिकामा हत्या गरिएकी पद्मा सुनारको परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद गैरेले यही चैत १३ गते हत्या गरिएकी रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी सुनारको परिवारको अवस्था अत्यन्त नाजुक रहेको भन्दै राहतको व्यवस्था गर्न माग गरेका हुन् ।
“पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिकास्थित खेया निवासी १२ कक्षामा पढ्दै गरेकी १९ वर्षीया सुनारको यही चैत १३ गते बिहान ९ बजेतिर पँधेरोमा नुहाउन जाँदा एक जना व्यक्तिले धारिलो हतियार प्रयोग गरेर उनको कायरतापूर्वक हत्या गरियो । हत्यामा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको छ । हत्यारा पत्ता लागेको छ । तर पनि परिवारले राहत पाउन सकेको छैन”, उनले भने ।
सुनारमाथि भएका जस्ता घटनाले समाजलाई अत्यन्त उच्छृङ्खल र निराशा पैदा गरेको बताउँदै उहाँले गरी खाने सुनारको परिवार अत्यन्त पीडामा रहेको उल्लेख गरे । “सरकारले पीडामा रहेको सुनारको परिवारलाई राहत हुने गरी केही व्यवस्थापन गरोस् भन्ने माग गर्न चाहन्छु, र यस्ता घटनालाई निरुत्साहित गर्नुपर्छ भन्नेतर्फ हामी सबैको ध्यान जानुपर्छ भन्नेतर्फ ध्यानाकर्षण गर्दछु”, उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया