राजनीति

देउवा, दाहाल र नेपालको निष्कर्ष

स्वतन्त्र न्यायपालिकालाई प्रभावमा पार्न खोजियो

पाँच दलीय गठबन्धनमा अविश्वास सृजना गर्न सरकार उद्दत

मधुसुधन भट्टराई |
जेठ ३१, २०७८ सोमबार २१:२५ बजे

काठमाडौँ : तीन पूर्वप्रधानमन्त्रीले स्वतन्त्र अदालतको निष्पक्षता र स्वतन्त्रतामाथि सरकारले विभिन्न तरिकाले प्रभाव पार्न खोजेको संकेतहरू फेला पर्न थालेको निष्कर्ष निकालेका छन् । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको भेटमा नेताहरूले त्यस्तो निष्कर्ष निकाल्दै खबरदारी गर्ने सहमति गरेका हुन् । 

भेटवार्तामा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले न्यायपालिकाले स्वतन्त्र रूपमा जनतालाई न्याय दिने वातावरण निर्माण गर्न खबरदारी गर्ने विषयमा कुराकानी भएको बताए । ‘स्वतन्त्र अदालतको निष्पक्षता र स्वतन्त्रतामाथि सरकारले विभिन्‍न तरिकाले प्रभाव पार्न खोजेका संकेत सत्तामा रहेकाका अभिव्यक्तिहरूबाट देखिन थालेको छ । त्यसको खबरदारी गर्ने निष्कर्षमा शीर्ष नेताहरू पुग्नुभएको छ,’ कांग्रेस महामन्त्री खड्काले इकागजसँग भने, ‘स्वतन्त्र न्यायपालिकाले स्वतन्त्ररूपमा जनतालाई न्याय दिन सक्ने वातावरण सृजना गर्न लागि पर्ने सहमति बनेको छ ।’
 
वार्तामा पाँच दलीय गठबन्धनमा अविश्वास सृजना गर्न खोजिएको र त्यसलाई कसरी चिरेर एकताबद्ध तरिकाले अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको छ । ‘५ दलीय गठबन्धनमा अविश्वास सृजना गर्न हुने कोसिसमा सतर्क हुने, आपसमा एकताबद्ध भएर दृढ एकताका साथ बनेको मिसनका लागि काम गर्ने सहमति बनेको छ,’ महामन्त्री खड्काले भने, ‘गठबन्धनलाई एकढिक्का बनाउँदै प्रदेश तहमा सुदृढ विस्तार गर्ने र गठबन्धनका पक्षमा माहोल बनाउने विषयमा पनि कुराकानी भयो ।’


७ जेठको राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध गठबन्धन बनाएर कांग्रेस, माओवादी, एमालेको नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन बनाएका छन् । उनीहरूले विघटनविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । 

त्यस्तै बैठकमा संविधानका अंगहरूमा सत्ताले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभाव पार्न खोजेको भन्दै त्यसतर्फ आम नागरिकलाई सजग र सतर्क बनाउने विषयमा कुराकानी भएको थियो । संविधान, लोकतन्त्र र जनताको जीवन रक्षाका सन्दर्भमा सरकारलाई सधै झक्झक्याउने पनि नेताहरूबीच सहमति बनेको छ । 

उनीहरूबीच सरकारलाई आफूहरूले पटक-पटक कोभिड-१९ बाट नागरिकको जीवन रक्षाका लागि कोभिडविरुद्धको खोप चाडै उपलब्ध गराउन, निषेधाज्ञाका समयमा श्रमजिवीलगायतमा परेको प्रभाव क मगर्न राहत प्याकेज ल्याउन पटक–पटक भन्दापनि ध्यान नगएको विषयमा कुराकानी भएको थियो । यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि समीक्ष भएको खड्काले बताए । 

यसअघि सधै कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्‍ने विपक्षी गठबन्धनको बैठक आज भने नेता नेपालको निवासमा बसेको हो । कम्युनिष्टहरू कांग्रेसको पछि लागे भन्ने आरोप चिर्न नेपालको निवासमा बैठक बसेको नेताहरूले बताएका छन् ।  


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x