उपनिर्वाचन : पत्याएनन् जनताले नयाँ दललाई, पुरानो दलमै भरोसा
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई उत्साहित तुल्याएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा प्राप्त जितले एमालेलाई खुसी तुल्याएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले चुनावले आफ्नो दलप्रति आम मतदाताको ठूलो भरोसा रहेको देखाएको प्रतिक्रिया दिए । एमालेको अगुवाइ र उपस्थितिमा देश निर्माण गर्न सकिन्छ भन्ने सन्देश पाएको जिकिर पनि उनले गरे ।
“अन्य राजनीतिक पार्टीमा सङ्गठित व्यक्तिले पनि ‘सूर्य’लाई मत हालेको देखिन्छ । विचारका हिसाबले आफ्ना दलको नेतालाई मान्ने तर मुलुक सञ्चालनको जिम्मेवारीमा एमाले खोज्ने प्रवृत्ति मतदातामा देखियो । यो एमालेका लागि नयाँ जिम्मेवारी पनि हो ।”
आफ्नो दललाई पहिचान विरोधी हो भनेर समाजलाई साम्प्रदायिक विभाजन गर्ने दूषित मनसाय बोकेकाहरूले लगाएको आरोप र अस्वीकृत भएको उनको भनाइ छ । पहिचानका नाममा अतिवादी प्रवृत्तिलाई समाप्त पारिएको जनाउँदै उनले जनताले युवालाई अनुमोदन गरेको स्पष्ट देखिएको बताए । विधायकको मुख्य भूमिका कानुन निर्माण हो, त्यस्तो महत्वपूर्ण थलो संसद्मा कानुनी पृष्ठभूमिका प्रतिनिधिलाई नै जनताले रोजेकामा उनले सन्तुष्टि व्यक्त गरे ।
“प्राप्त मतभारबाट उत्साहित मात्र नभएर आफूप्रति गरिएको भरोसालाई डगमगाउन नदिई मुलुकलाई ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको राष्ट्रिय सङ्कल्पमा दृढ भएर अघि बढ्छौँ”, उनले भने ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका मुख्य सचेतक हितराज पाण्डेले उपनिर्वाचनबाट देशले राजनीतिक परिपक्वता खोजेको सङ्केत गरेको प्रतिक्रिया दिए । उनका अनुसार मुलुकलाई अघि बढाउन दुई/तीन आयाम छन् ।
“अब सबै मिलेर काम गर्नुपर्छ । देशको समृद्धिका लागि मिलेर जाऔँ भन्ने सन्देश पाइएको छ । राजनीतिमा अघि बढ्न त्याग, समर्पण, परिपक्वता आवश्यक हुन्छ भन्ने सन्देश आयो”, उनले भने ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक सुशीला थिङले आफ्नो दलले निर्वाचनको परिणामलाई सकारात्मक रूपमा ग्रहण गरेको बताइन् । आफ्नो दल निर्वाचनमा पराजित भए पनि कांग्रेसप्रतिको जनताको भरोसा कायमै छ भन्ने जिकिर पनि उनले गरिन् ।
“निर्वाचनले एमाले र नेपाली कांग्रेसमै जनताको भरोसा छ भन्ने देखाएको छ । यसबाट नयाँ राजनीतिक दलको पनि परीक्षण भएको छ”, उनले भने । आफ्ना मतदाता यथावत् रहेको र तिनले कांग्रेसलाई माया गरिरहेको जनाउँदै उनले अब पार्टी जनताका माझमा पुग्न र अलि बढी खट्नुपर्ने आवश्यकता महसुस भएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनले सङ्गठन बिस्तार र पार्टी बनाउनका लागि जनतासँग लामो संवाद गर्न सन्देश दिएको बताए। “पछिल्लो राजनीतिक परिवर्तनसँगै रास्वपाले जनसमर्थन पाउँछ भन्ने बुझाइ स्थापित गर्न अझ बढी काम गर्नुपर्ने देखियो । त्यो बाँकी काम यथाशीघ्र गरेर अघि बढ्न निर्वाचनबाट सन्देश मिलेको छ ।”
उपनिर्वाचनमा आएको मतमाथि विचारविमर्श र समीक्षा गर्ने ठाउँमा आफूहरूलाई पुर्याएको बताउँदै उजले नतिजालाई सबै आयामले सोच्नुपर्छ भन्नेमा दलको आगामी बैठकमा छलफल हुने जानकारी दिए ।
इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन् । सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका उम्मेदवारले ४०४ मत पाएका छन् । एकिकृत समाजवादीका उम्मेदवारले ४०८ मत पाएका छन् ।
लाउड स्पिकर चुनाव चिन्हले ११८, मादल चुनाव चिन्हले ३३, कुखुराको भाले चुनाव चिन्हले ८१६, तीर चुनाव चिन्हले ४३, गोरूगाडाको चक्का पाङंग्रो चुनाव चिन्हले २०६, उडिरहेको माहुरी चुनाव चिन्हले ३६, षट्कोण चुनाव चिन्हले ४३, डोजर चुनाव चिन्हले ५५, महिला चुनाव चिन्हले १४, सिरिन्ज चुनाव चिन्हले २१, माछा चुनाव चिन्हले १२, कैंची चुनाव चिन्हले ४ र जुँगासहितको अनुहार चुनाव चिन्हले ३८ मत पाएका छन् ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो, जसमा ६८ हजार ४७२ मत सदर भएको आयोगले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया