देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले देश र जनताको पक्षमा सरकारले ऐतिहासिक काम गरेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले देश र जनताका हितमा राम्रा काम मात्र गर्ने प्रण गरेको र त्यहीअनुसार काम भइरहेको बताएका हुन् । उनले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा राम्रो सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपाल श्रीलङ्का नै बन्दैछ भन्ने भाष्य चिरेर अर्थतन्त्रलाई लयमा अघि बढाइएको बताए ।
उनले नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुन काण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास भएको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको पक्षमा उठाइएका कदम, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण र नागरिकता प्रदान जस्ता जनताको पक्षमा महत्वपूर्ण काम भएको उल्लेख गरे । उनले देशभरिका ५५ लाखभन्दा बढी विद्यार्थीका लागि यसपटक पनि समयअगावै पाठ्यपुस्तक पुर्याइएको, किसानहरूका लागि समयमै रासायनिक मलको प्रबन्ध भएको जानकारी दिए ।
त्यस्तै उनले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने स्पष्ट पारे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए । पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धिको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले खोजमुलक तथ्यमूलक र व्यावसायिक पत्रकारिताको आवश्यकता बढ्दै गएको बताए । उनले संविधानको प्रस्तावनामा नै लेखिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनले मात्रै अव नेपाली पत्रकारहरूको अधिकार सुनिश्चित भएको मानिने धारणा राखे । मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक, आमसञ्चार विधेयक लगायतलाई छिटो पारित गर्न सरकार गम्भीर रहेको बताए ।
त्यस्तै पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालमा प्रेस स्वतन्त्रताको सम्पूर्ण रूपमा उपयोग गर्न सक्छौं कि सक्दैनौँ भनेर प्रश्न गर्दा शंका गर्ने अवस्थामा रहेको बताए । संविधानको मर्मअनुसार मिडियासँग सम्बन्धित कानुन अझै पनि बन्न नसकेको र प्रतिबद्धता मात्रै आएको उनले बताए ।
पोखरेलले कानुन निर्माणको पुरानो प्रक्रियालाई पुनर्विचार गदै फास्ट ट्रयाकबाट कानुन बनाउने विषयमा राजनीतिक दलहरूले सोच्नुपर्ने बताए । राज्यका सबै संरचनाहरूबाट मिडियालाई नियन्त्रण गर्ने मानसिकता तोड्ने अहिलेको चुनौती रहेको उनले बताए । कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया