राजनीति

गण्डकी प्रदेश

पूर्वअर्थमन्त्री भन्छन्ः बजेटको नाममा वक्तव्य ल्याइयो

अनिष भट्टराई |
असार १, २०७८ मगलवार १९:५७ बजे

पोखरा : गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षका लागि पोखरेल सरकारले ल्याएको बजेटलाई वक्तव्यको संज्ञा दिएका छन् । बजेटको नाममा लिखित भाषण गरेर मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले ‘ब्लन्डर’ गरेको गुरुङले बताए ।

बजेट ल्याउनुभन्दा ४ दिनअघि मात्र गण्डकीमा कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकार बनेको हो । ‘यो ब्लन्डर हो । बजेट कसरी बनाउने भन्‍ने शुन्य ज्ञान पनि रैनछ, यो लिखित भाषण मात्र हो, अंक-अंक, कार्यक्रमको शीर्षकसहित आउनुपर्थ्यो, त्यस्तो केही भेटिएन,’ गुरुङले भने । 


 बजेट तर्जुमा गर्ने,  बजेट प्रस्तुत गर्ने नीति र आधार नै पूरा नगरी बजेटको नाममा वक्तव्य ल्याइएको गुरुङले बताए । आय/व्यय, स्रोत, शीर्षकगत ढंगमा अंक खुलाएर ल्याउनु पर्ने भए पनि केही पूरा नगरिएको उनले बताए । ‘१/२ ठाउँमा बाहेक सबैमा आवश्यकता अनुसार, आवश्यकता अनुसार भनिएको छ । आवश्यक बजेट बनाउनु भएकै रहेनछ,’ उनले भने । 

बजेटमाथि आफूले टिप्पणी गर्नै नसक्ने उनले बताए । ‘बजेट आएको भए टिप्पणी, छलफल गर्ने । छलफल चल्नै सक्दैन,’ उनले भने । अर्थ सचिव र टोलीले गम्भिर गल्ति गरेको गुरुङको टिप्पणी छ । ‘बजेटको त खाका पनि ल्याउन सक्नुभएन, प्रतिपक्षीमा ३ वर्ष बस्दा बजेट भनेको त भाषण हो भन्‍ने बुझ्नुभएछ,’ उनले भने, ‘अर्थ सचिव र टोलीले गम्भिर भुल गरे, यो बजेट होइन भन्न सक्नुपर्थ्यो अर्थ टोलीले ।’

मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेलले आज बजेट ल्याएका थिए । शनिबारमात्र मुख्यमन्त्री नियुक्त भएका पोखरेलले सोमबार नीति कार्यक्रम ल्याएका थिए । आगामी आर्थिक वर्षका लागि बजेट केही खुम्चिएर आएको छ । मुख्यमन्त्री पोखरेलले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याइएको बताए ।

१३ अर्ब ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्व ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरिएको छ । चालुतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट रहेको उनले बताए । अघिल्लो आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक आम्दानी र संघबाट अनुदानमा गिरावट आएपछि प्रदेशमा बजेट खुम्चिएको हो । 

केन्द्रबाट समानीकरण अनुदानमा ७ अर्ब ४२ करोड २८ लाख रुपैयाँ पाएको छ । यस्तै ससर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपुरक अनुदानमा ८७ करोड ३६ लाख रुपैयाँ आएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहका लागि वित्तिय समानीकरण अनुदानमा १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x