जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन पहल गर्छु : सभापति खतिवडा
काठमाडौँ- प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्ता र नागरिकतासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।
जन्मदर्तासम्बन्धी कानुन संशोधनका विषयमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तर्क्रियामा उनले दुवै कानुन संशोधनका लागि समितिले पहल गर्ने बताएका हुन् । आमाका नाममा नागरिकता प्रदान गर्न संविधान र कानुनमा गरिएको व्यवस्थाअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्न गृह मन्त्रालयसँग सहमति भएको पनि उनले जानकारी दिए ।
सभापति खतिवडाले अन्तर्राष्ट्रिय कानुनले आकाशमाथि उडिरहेको हवाई जहाजमा जन्म भएमा जुन देशमाथि उडिरहेको अवस्थामा जन्म भएको हो सोही देशमा जन्मदर्ता गराउने व्यवस्था गरेकाले ति व्यवस्थाको पालना हुनुपर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले संविधानको धारा ३९ (१) मा कानुनी पहिचानको अधिकारको व्यवस्था गरिएकाले जन्मदर्ताका बारेमा खडा गरिने समस्या संविधानविपरीत हुने बताए ।
नेपालले अनुमोदन गरेको बाल अधिकार महासन्धिको धारा ७ मा बालक जन्मेको एक घण्टामै जन्मदर्ता गरेर प्रमाणपत्र दिनुपर्ने व्यवस्था भए पनि नेपालमा हजारौँ बालबालिकाको वर्षौंदेखि जन्मदर्ता हुन नसकेकाले सो समस्या समाधानका लागि कानुनमा समसामयिक संशोधन गरिनुपर्नेमा उनले समिति सभापति खतिवडालगायतको ध्यानाकर्षण गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया