राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने विषयमा आशंका नगर्न मन्त्री गिरीको आग्रह
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने विषयमा आशंका नगर्न आग्रह गरेका छन् ।
मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गिरीले कुनै दल फुटाउन नभइ थप परिमार्जन गर्न राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको स्पष्ट पारे । विधेयक फिर्ता लिने निर्णय कुनै दलसँग लक्षित नभएको र कुनै दल फुटाउने ढंगले सरकार अघि नबढ्ने उनले बताए ।
त्यस्तै मन्त्री गिरीले प्रतिपक्षी दलको मागप्रति सरकार गम्भीर भएर नै कार्यदलमार्फत काम भइरहेको बताए । संवैधानिक बाध्यता अनुसार गर्नुपर्ने काम विरोधका बीच सदनबाट अघि बढाइएको उनको भनाइ छ । उनले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगेको भन्दै केही दिनभित्रै सहमति हुने जिकिर गरे ।
यता कांग्रेसले दल विभाजन गराउने नियतले सरकारले विधेयक फिर्ता लिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस सहमहामन्त्री बद्रि पाण्डेले दलहरू फुटाउनका लागि सहजता प्रदान गर्न राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने काम भएको बताए । उनले नयाँ आएका दलहरू राजनीतिक स्थिरता चाहन्छौं भन्ने कुराबाट रास्वपा च्यूत भएको तर्क गरे ।
पाण्डेले संसदलाई बाहुबलको थलो बनाउने कामले लोकतान्त्रिक मूल्यमान्यतामाथि धावा बोल्ने काम भएको भन्दै आगामी दिनमा थप प्रतिरोध गर्ने चेतावनी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया