राजनीति

'सरकार बुद्ध जन्म भूमिलाई धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील छ'

इकागज |
जेठ १०, २०८१ बिहीबार १५:२९ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् ।

२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा बिहीबार लम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन/अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताएका हुन् ।


उनले नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिए । यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने उनले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले शाक्यमुनि गौतम बुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । बृहत्तर लुम्बिनी विकास परियोजनाको सफल कार्यान्वयनमार्फत् उक्त सम्भावनालाई यथार्थमा बदल्न सकिने बताउँदै उनले यस कार्यका लागि प्रस्ताव बनाउन र पहल अगाडि बढाउन लुम्बिनी विकास कोषलाई निर्देशन दिए ।

उनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गम स्थल भएको धारणा राखे । नेपाल सरकारले सन् २००४ मा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो शिखर सम्मेलन छिट्टै आयोजना गरिने व्यहोरासमेत जानकारी दिए ।


Author

थप समाचार
x