राजनीति

महिलाहरूको क्षमता कमजोर बनाउने कथाको चक्र तोड्न राजनीतिमा आएँ : सुनिता डंगोल

इकागज |
जेठ १३, २०८१ आइतबार १२:४८ बजे

काठमाडौँ- महिलाहरूको आत्मविश्वाश, आत्मसम्मान र क्षमता बढ्न नदिने कथाको चक्र तोड्न आफू राजनीतिमा आएको काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् ।

बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा बोल्दै उनले महिलाहरूलाई प्रतिकुल अवस्थाबाट माथि उकास्न निरन्तर प्रयास गरिरहेको बताइन् ।


त्यस क्रममा उनले सामाजिक मान्यताका आयामहरूमा चर्चा गर्दै, नेपाली राजनीतिमा महिलाहरूको सहभागिता बढ्दै गएको बताइन् । ‘यसबाट महिलाको अवस्थालाई सामाजिक तथा प्राकृतिक न्याय अनुकुल निर्माण गर्नमा योगदान पुग्नेछ ।’ उनको भनाइ छ ।

'सूचना र प्रविधिले रुपान्तरित हुँदै गरेको विश्व परिवेशमा लैङ्गिक समानता र समावेशीकरणका लागि रणनीतिक राष्ट्रिय अन्तरराष्ट्रिय सञ्जाल निर्माण हुनेछ । यसबाट आफ्नो परिवेशलाई विश्वका अन्य परिवेशसँग तुलना गर्न र सुधारका काम गर्न सहज हुनेछ' कार्यक्रममा डंगोलले भनिन् । 

शनिबार उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीइसँग छलफल गरिन् । ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएका हुन् । म्यानचेष्टर सहरको अभोभा स्टुडियोमा जेठ ११ सुरु भएको फेस्टिभल आज सकिँदैछ । 

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरूका बिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने फेस्टिभल हरेक बर्ष आयोजना हुने गरेको छ । यो सन् २०११ मा लण्डनको साउथ वैङ्कबाट सुरु भएको हो ।

यसअघिका कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेकी छन् । लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरूको आवाजलाई सशक्त बनाउनु कार्यक्रमको लक्ष्य हो । 

हालसम्म विश्वका ६ महादेशहरूको ४५ भन्दा बढी स्थानहरूमा ५० लाख भन्दा बढी व्यक्तिहरूले सहभागिता जनाइसकेका छन् । 

उपप्रमुख नेतृत्वको भ्रमण टोली यसपछि स्कटल्याण्डमा नेपाल स्कटल्याण्ड एसोसियसनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछ ।

यस्तै लण्डनस्थित बेलायतका लागि नेपालको दूतावासले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुनेछ । भ्रमण अवधिमा टोली, अक्सफोर्ड विश्वविद्यालय, वर्ल्ड नेवा अर्गनाइजेसनलगायत संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर ज्येष्ठ २० गते स्वदेश फर्किने छिन् ।
 


Author

थप समाचार
x