राजनीति

प्रधानमन्त्रीको दाबी : माधव नेपाल समीकरणभन्दा बाहिर जानुहुन्‍न

इकागज |
जेठ १७, २०८१ बिहीबार १२:१९ बजे

फाइल तस्बिर

विराटनगर- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड' ले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन् । 

बिहीबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानीअनुसार नेपाल समीकरणभन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् । 


उनले भने, 'माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ ।'

प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् ।

‘श्रमाधान रोजगार मेला’ को उद्घाटन गर्न प्रधानमन्त्री विराटनगर पुगेका हुन् ।


Author

थप समाचार
x