राजनीति

गीतसंगीत क्षेत्रका विकृति रोक्नका लागि सहयोग गर्न मन्त्रालय तयार छ : गृहमन्त्री लामिछाने

इकागज |
जेठ १७, २०८१ बिहीबार २१:१० बजे

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतका क्षेत्रमा बढेको विकृति रोक्न समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीतसङ्गीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औँल्याए ।


गृहमन्त्री लामिछानेले भने, 'ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ । स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरूले आफ्नो भन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ । समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।'

उनले मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उहाँले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिए । लोक तथा दोहोरी गीत क्षेत्रका विकृति नियन्त्रणमा आफूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग पनि छलफल गर्ने उनले बताए ।

ज्ञापनपत्र बुझाउन पुगेका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पुर्याउने खालको हुँदै गएको तथा दोहोरी, र्याप, ब्याटलका नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छाडिएको, मेला महोत्सवमा उच्छृङ्खल र अमर्यादित गीतसङ्गीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


Author

थप समाचार
x