जलवायु परिवर्तको असरले प्राकृतिक सम्पदाको विनाश : मन्त्री राई
काठमाडौँ- संघीय सरकारका खानेपानीमन्त्री राजेन्द्रकुमार राईले जलवायु परिवर्तनका कारण प्राकृतिक सम्पदामा ठूलो असर परिरहेको बताएका छन् । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) को ४४ औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री राईले जलवायु परिवर्तनको असर सतहमै पुगेको दाबी गरेका हुन् ।
'पछिल्लो समय जलवायु परिवर्तनका कारण अचम्मका घटनाहरू घटिरहेका छन्,' उनले भने, 'हिमालमा फल्ने फलफूल पहाडमा उत्पादन हुन थालेका छन् । हिमालमा हिउँको सतह घट्दै छ । गर्मी प्रत्येक वर्ष बढिरहेको छ, त्यसको असर बढ्दै गएको छ ।' मन्त्री राईले सबै सजक भएर वातावरण जोगाउन जुट्न आग्रह गरेका छन् ।
कार्यक्रममा एमाले बागमती प्रदेश सभा सदस्य पूर्व योजना आयोगका उपाध्यक्ष डा.दिनेश चन्द्र देवकोटाले समाज रुपान्तरण गर्ने क्रममा डिप्लोमा इन्जिनियरिङको ठूलो भूमिका रहेको बताए । पछिल्लो समय जलवायु प्रदूषणका कारण देशमा जमिनको बिग्रिँदो अवस्था रहेको, वर्षायाम आएपछि डराउनुपर्ने अवस्था आएकोमा दु:ख व्यक्त गर्दै उनले पुरानै अवस्थामा जमिनलाई ल्याउनको लागि वन विनाशलाई कम गर्दै वातावरण संरक्षणमा जुट्न आह्वान गरेका छन् ।
अहिले विकास निर्माणमा चरम लापरवाहीका कारण विकास निर्माणका काम सुरु नहुँदै नष्ट हुने गरेको भन्दै उनले जलवायु परिवर्तनको कारणले खानेपानी, जलविद्युत क्षेत्रमा देशकै समग्र जिडिपी कम हुँदै गएको बताए ।
वातावरणलाई सुरक्षित गर्नको लागि मुख्य रूपमा पानी, कृषि र वनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने, परम्परागत नभएर ग्रिन इकोनमीलाई प्राथमिकता दिनुपर्ने, छरिएको पुँजीलाई एकीकृत गर्नुपर्ने, सहकारी समस्या समाधान गर्नुपर्ने र जलविद्युतको अवसरलाई उपयोग उनको जोड छ ।
पछिल्लो समय भारत र चीनबाट सिमानामा गर्ने उद्योगको विकासका कारण नेपालको वातावरणमा गम्भीर असर परेको भन्दै देवकोटाले आपसमा साझेदारी गरेर समस्या समाधानमा जोड दिए ।
कार्यक्रममा डिप्लोमा इन्जिनियर्स एशोसियसन नेपाल (डिन) का अध्यक्ष कामेश्वरप्रसाद सिंहले देशमा निर्माण हुने हरेक विकास निर्माणका कामहरू प्राकृतिक रूपमा नै सहज हुने गरी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै विकास निर्माणलाई दिगो बनाउने कुरामा डिनको भूमिकालाई थप प्रभावकारी बनाउनेमा उनको जोड थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया