राजनीति

सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रको अन्तरआबद्धता गर्ने कार्यलाई तीव्रता दिएका छौं : गृहमन्त्री लामिछाने

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १८:४४ बजे

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विभिन्‍न सरकारी सेवासँग राष्ट्रिय परिचयपत्रको अन्तरआबद्धता गर्ने कार्यलाई तीव्रता दिएको बताएका छन् ।

आफ्नो कार्यकालको १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले सिमकार्ड जारी, सामाजिक सुरक्षा कोषका सेवा, कम्पनी दर्ता तथा नवीकरण, भूमि किनबेच, सवारी साधन दर्ता तथा नवीकरण आदि सेवाका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने व्यवस्था क्रमशः लागू गर्ने स्वीकृति प्राप्त भएको जानकारी दिएका हुन् ।


उनले कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा फिर्ता बोलाउन निर्देशन दिएको बताए । यसबाट नेपाल प्रहरीतर्फ १०७ जना र सशस्त्र प्रहरी बल, नेपालतर्फ १३४ जना गरी जम्मा २४१ जना व्यक्तिगत सुरक्षाकर्मी फिर्ता भएको उनले जानकारी दिए ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालबीच सहमति भइ आन्दोलन फिर्ता भएको, मृतक आरती शाहका परिवारसँग सम्झौता भएको, आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति, लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालबीच सम्बन्धित मन्त्रालयको नेतृत्व तथा गृह मन्त्रालयको सहजीकरणमा वार्ता तथा सम्झौता भई आन्दोलन स्थगित भएको लगायतका कार्य पनि गृहमन्त्री लामिछानेको प्रगति विवरणमा उल्लेख छ ।

 


Author

थप समाचार
x