राजनीति

थारू भाषाको लिपिको विषयमा एउटा निष्कर्ष निकाल्न आवश्यक छ : मन्त्री चौधरी

इकागज |
असार १, २०८१ शनिबार १४:५१ बजे

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले थारू भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् । थारू कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको थारू भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन् ।


थारू जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उनले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको जिकिर गरिन् । ठाउँअनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।

'भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारू भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ,' मन्त्री चौधरीले भनिन्, 'भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।'

उनले थारू जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् । ​सोझो जातिको रूपमा चिनिने थारू जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्बासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन् । 'हामी अब आर्थिक गतिविधिमा बढीभन्दा बढी सहभागी हुनै पर्छ । किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?' उनले भनिन्, 'अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।'

मन्त्री चौधरीले जन्मदेखि मृत्युपछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने भनाइ राखिन् ।

त्यस्तै उनले विभिन्न बहानामा थारू जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने उल्लेख गरिन् । 'हिजो राना थारू छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्‍यौँ । तर, उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारूले निवेदन दिएको कुरा आएको छ,' मन्त्री चौधरीले भनिन्, 'यसरी त थारू जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।'


Author

थप समाचार
x