दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
काठमाडौँ- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो ।
आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा मंगलबार बालुवाटारमा आयोगको बैठक बसेको थियो ।
बिएन्डसीलाई सम्बन्धन दिन सर्वोच्च अदालतले यसअघि परमादेश दिइसकेको थियो ।
अदालतले नै परमादेश दिइसकेकाले सोही अनुसार निर्णय गर्ने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले बताए ।
ती सदस्यले बिएन्डसीलाई सम्बन्धन दिन प्रधानमन्त्री दाहाल आफैँले प्रस्ताव गरेको बताए ।
आयोगको १४ बैठकको मुख्य एजेन्डा नै बिएन्डसीको सम्बन्धनबारे थियो । बैठकमा आयोगका सह-अध्यक्ष स्वास्थ्य तथा जनससंख्या मन्त्री प्रदीप यादव र शिक्षा मन्त्री सुमना श्रेष्ठ पनि थिए ।
सर्वोच्च अदालतले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा जेठ २४ गते परमादेश जारी गर्दै १५ दिनभित्र बिएन्डसीलाई सम्बन्धन दिन आदेश दिएको थियो ।
उक्त परमादेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।
बिएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशय पत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो ।
तर, सबै प्रक्रिया पूरा गर्दा पनि सम्बन्धन नपाएको भन्दै बिएन्डसी सञ्चालक दुर्गा प्रसाईं सर्वोच्च अदालत गएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया