राजनीति

संविधान र संघीयतालाई कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण भइरहेको छ : मन्त्री गिरी

इकागज |
असार ६, २०८१ बिहीबार १७:५४ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संविधान र संघीयतालाई कार्यान्वयनका लागि आवश्यक कानुनहरू निर्माण भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालय अन्तर्गत विनियोजित बजेटका सन्दर्भमा आएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले सरकार गम्भीरताका साथ संविधान कार्यान्वयनमा लागेको भन्दै त्यसका लागि आवश्यक कानुनहरू निर्माण भइरहेको जानकारी दिए ।


उनले संविधान जारी भइसकेपछि हालसम्म ३ सय ४ वटा विधेयकहरूको मस्यौदा र ३२२ वटा नियमावलीमा मन्त्रालयले सहमति दिइसकेको बताए । त्यस्तै अहिलेसम्म १९५ ऐन र ३२९ वटा नियमावलीका साथै ७८ वटा गठन आदेश भएको उनको भनाइ छ ।

उनले कानुन व्यवसायी प्रतिष्ठान गठन गरिने र कानुनी क्षेत्रलाई पारदर्शी बनाइनका लागि कानुन बनाउने तयारी भइरहेको बताए । मन्त्री गिरीले अदालतको काम कारबाहीलाई छिटो छरितो ढंगले अघि बढाउन सुधारका काम भएको र मुद्दाहरू छिटो फछर्यौट हुन थालेको दाबी गरे ।

मन्त्री गिरीले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको भन्दै मिडिया ट्रायलले कुनै पनि मुद्दामा प्रभाव नपर्ने दाबी गरे । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई छिटो अघि बढाइ पारित गर्नुपर्ने धारणा राखे । 


Author

थप समाचार
x