राजनीति

अलबिदा तप्त बिष्ट

सपनामा पनि जनताका दु:ख देख्‍ने नेता

जसले भेरी-कर्णाली नदी किनारका नागरिकको जन्जिर तोडे

विष्णु विश्‍वकर्मा |
असार ६, २०७८ आइतबार १३:२८ बजे

काठमाडौँ : आइतबार बिहानै सामाजिक सञ्जालमा एक दुःखद खबर फैलियो । जुन सुरुमा पत्याउन मुश्किल थियो । अन्त्यमा, सत्य स्वीकार्न कर लाग्ने समाचार लेख्नुपर्यो । पूर्वसञ्चार राज्यमन्त्री तप्त बिष्टको निधन !

तीन हप्ताअघि बिष्टलाई कोभिड-१९ संक्रमण पुष्टि भएको भयो । मधुमेह, उच्च रक्तचापका बिरामी बिष्टलाई संक्रमण भएलगत्तै कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको एक हप्ता उपचार भयो । त्यसपछि अवस्था जटिल भएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो । मेडिसिटी अस्पताल भर्ना गरियो । जहाँ उनको डेढ हप्ता उपचार चल्यो । तर सुधार भएन । मोटोपन, सुगर, उच्च रक्तचापले उनको अवस्था जटिल बन्दै गयो । जुन जटिलताले शनिबार मध्यरातमा बिष्टको मृत्यु गरायो ।


मध्यरात भएपछि धेरैलाई थाहा भएन । आइतबार बिहानै उनको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा फोन गरेकाहरूले मृत्युको दुःखद खबर सुने । जो आउँदो निर्वाचनमा सुर्खेतमा फेरि चुनाव जित्ने स्वप्निल सपना सजाइरहेका थिए । कोभिडको वास्तै नगरी जनताको घर–दैलोमा पुगिरहेका थिए । चुनाव जित्न विकास गर्नुपर्ने उनको योजनाले सार्थकता पाउँदै थियो । 

सामाजिक सञ्जालमा आइतबार बिहानै उनलाई श्रद्धाञ्जलि दिनेको लाम छ । यसका कारण पनि छन् । जो जीवनभरि सँधै लडिरहे ।

तप्ट बिष्टको परिचय

आफ्नो राजनीतिक जीवनमा राज्यमन्त्री बनेका बिष्ट सुर्खेतको कर्णाली मानिने कुइनेका स्थायी बासिन्दा हुन् । उनको बाल्यकाल कुइनेमै बित्यो । अछाम जिल्लामा २०२० सालमा जन्मिएका उनी हक्की र जिद्दी स्वभावका थिए । उनी सानै छँदा अछामबाट परिबार बसाई सरेर सुर्खेत कुइनेमा बस्न थालेको हो । 

जुन साबिकको तातोपानी गाविसमा पर्छ । यो ठाउँ पञ्चपुरी नगरपालिका नामाकरण गरिएको छ । उनको राजनीतिक यात्रा गाविसबाटै सुरु भएको हो । पचासको दशकबाट उनी सुर्खेत सदरमुकाम वीरेन्द्रनगर बस्न थाले । गाउँ छाडेर सुर्खेत बजार बस्नुका पछाडि तत्कालीन माओवादीको सशस्त्र द्वन्द्व पनि हो ।

त्यतिबेला कांग्रेसका कट्टर कार्यकर्तालाई माओवादी नेता कार्यकर्ताले असाध्यै दुःख दिन्थे । सके आफैसँग लैजान्थे । नसके अपहरण शैलीमा उठाउँथे । सोही कारण उनले गाउँ छाडे । सुर्खेत बजार बसे । जिल्लाको राजनीतिमा सक्रिय हस्ती बने । 

उनी लगातार तीन पटकसम्म उनी जिल्लाको पार्टी सभापति बने । त्यतिबेला उनले चुनाव लड्न पार्टीको टिकट पाउन सकेनन् । गुटुका शिवराज जैशीले टिकट पाउँथे । तर हार्थे । एकपटक घाटगाउँमा शिवराज जैशीलाई गाउँकै माओवादी नेता कार्यकर्ताले कर्णाली नदी किनारामा लखेटेका थिए । लगातार चुनाव लड्ने, केही काम नगर्ने र हार्ने प्रवृत्तिका जैशी लगातार जसो पराजित भएपछि तप्त बिष्टलाई टिकट दिनुपर्ने दबाब बढेको थियो ।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनले टिकट पाए । चुनाव पनि जिते । त्यसैबेला उनी सञ्चार राज्यमन्त्री बन्न सफल भए । सञ्चार राज्यमन्त्री भएपछि उनले पश्चिम सुर्खेतमा विकासका काम गरेका थिए । सोही कारण पनि उनी सुर्खेतमा प्रिय बन्दै गरेका थिए ।

उनले के काम गरे ? 

धेरै नेताहरू भाषण गर्छन्, विकासका लागि राजनीति गर्छु । जीवन दिन्छु । जीवन राजनीतिमै बिताउँछु । तर उनीहरूको मुख्य काम राजनीतिलाई आधार मानेर आफ्नो विकास गर्ने हुन्छ । तर, तप्त बिष्ट यसका अपवाद मानिन्छन् । उनी सञ्चार राज्यमन्त्री हुँदा सिंहदरबारमा के कति काम गरे ? कति विकास गरे ? कति परिवर्तन गरे ? त्यसको हिसाब स्पष्ट छैन । तर, ९ महिने कार्यकालमा उनले सुर्खेत पश्चिमका लागि धेरै गरेका छन् । भेरी र कर्णाली नदीमा पक्की पुल हाल्ने उनले पहलकदमी सुरु गरेका थिए ।

आफ्नो गाउँमा जोडिने सुगरखाल–कुइनेमा उनले आर्कब्रिज जस्तो पक्की पुल बनाए । जसको निर्माण कार्य चलिरहेकै छ । उनी यो पुलमा गाडी चढेर आफ्नो घर जान चाहन्थे । तर त्यो चाहना पूरा भएन । पश्चिम सुर्खेत, कैलालीको माथिल्लो क्षेत्रमा मोबाइल फोन राम्रोसँग चल्दैन्थ्यो । दिउँसो नमस्तेले काम गरेपनि राती त्यो सेवा उपलब्ध हुँदैन्थ्यो । जसको उपलब्धता कैलालीको चिसापानीमा रहेको नमस्तेको टावरबाट हुन्थ्यो । यो समस्याबाट राज्यमन्त्री भएका बेला बिष्टले छुट्कारा दिलाए । दिनरात पश्चिम सुर्खेतमा फोन लाग्छ । 

त्यसैगरी पश्चिम सुर्खेत सडक सञ्जालबाट बञ्चित थियो । जसको बाधक भेरी नदी थियो । सडक नपुग्ने यो ठाउँबाट हिडेरै कर्णाली चिसापानी पुग्नुपथ्र्यो । हिँडेरै बाबियाचौरसम्म पुग्नुपर्थ्यो । अनि मात्रै गाडी चढ्न पाइन्थ्यो । तर उनले अरू नेताहरूसँग सहकार्य गरेर पश्चिम सुर्खेतका घाटगाउँ, तातोपानी र कुइनेसम्म गाडी पुर्याए । कर्णाली नदी माथिका दुई पुलको निर्माण सकिएलगत्तै कर्णाली चिसापानीबाट सोझै सुर्खेत वीरेन्द्रनगर आउन सकिन्छ । जुन यात्रा छोटिन्छ ।

कैलालीबाट सुर्खेत वीरेन्द्रनगर पुग्न बर्दिया हुँदै बाँकेको कोहलपुर र सुर्खेतको छिन्चुसम्मको यात्रा गर्नुपर्छ । यो बाध्यता हटाउन पनि उनले ठूलो भूमिका खेले ।
त्यसबाहेक अरू छोटोमोटा काम पनि उनले गरे । जुन चर्चायोग्य होलान्÷नहोलान् । तर उनी आफू जतिसुकै विवादमा परेपनि विकासका लागि मरिहत्ते गर्ने नेता थिए । आफ्नो निर्वाचन क्षेत्रका वर्षौदेखि दुःख दूर गरेका बिष्ट जनताबाट आफै अनन्त यात्रामा निस्केका छन् ।

दुःखका जन्जिर तोड्ने नेता 

घाटगाउँ र कुइने पश्चिम सुर्खेतका सबैभन्दा विकट ठाउँ हुन् । जहाँ भेरी र कर्णाली नदीले गर्दा ठूलो समस्या छ । अझ भनौँ, यो ठाउँको दुःख भनेकै कर्णाली र भेरी नदी हुन् । अर्को समस्या भीर हो । जहाँ गाईभैँसी पाल्नका लागि चाहिने घाँस काट्न धेरैजसो भीरमा जान्छन् ।

कतिपय भीरबाटै लडेर ज्यान गुमाउँछन् । रुख तथा भीरबाट लडेर गम्भीर घाइते भएकालाई उपचारका लागि नेपालगञ्ज लैजानुपर्थ्यो । तर, भेरी तथा कर्णाली नदीमा पुल नभएका कारण समयमै अस्पताल पुर्याउन समस्या हुन्थ्यो । त्यसैले कर्णाली नदीमा डुंगामाथि बिरामी राखेर नदीमा बगाउँदै कर्णाली चिसापानी पुर्याइन्थ्यो । त्यहाँबाट गाडीमा हालेर बिरामीलाई नेपालगञ्ज पुर्‍याइन्थ्यो ।

कर्णालीको भीरैभीरको बाटो स्टेचरमा राखेर लैजादा समय लाग्ने भएपछि काठको डुंगामा राखेर छिटो अस्पताल पुर्याउने गरिन्थ्यो । त्यति गर्दा थोरै जीवितै फर्किन्थे । धेरैजसो बीच बाटोमै ज्यान गुमाउँथे । यही कारण उनले भेरी र कर्णाली नदीमा पुल हाल्ने सपना पालेका थिए । सम्भवतः यस्तै दुःख अन्त्यका लागि उनले राजनीतिको सुरुवात पनि गरेका थिए ।

जुन सपना उनले पूरा पनि गरे । सुर्खेतको घाटगाउँ, कुइने, र कैलालीको सुगरखाल जोड्ने तीन पुल निर्माण भइरहेका छन् । त्यसमध्ये घाटगाउँ कुइने जोड्ने पक्की पुल निर्माणको काम सकिएको छ । कुइने–सुगरखाल र सुगरखाल–घाटगाउँ जोड्ने पक्की पुल निर्माणको काम चलिरहेको छ । घाटगाँउ–कुइने पक्की पुल निर्माण भएपछि उनले फेसबुकमा फोटो हाल्दै लेखेका थिए, ‘मेरा साना दुःखले हालेको पुल होइन ।’

तर, बाँकी दुई पुलको निर्माण सम्पन्न नहुँदै कोरोनाका कारण उनी आफै मृत्युसँग लीन भए । विकट गाउँका दुःख र ती दुःखको जन्जिर तोड्ने काम उनले गरेका थिए । जसकारण उनी सँधै त्यहाँका जनताको स्मृतिमा रहनेछन् ।

विवाद र विकास बराबर ! 

तप्त बिष्ट अब स्मृतिमा सीमित भएका छन् । उनले जति राम्रा काम गरे । त्यसका लागि उनले ठूलै लडाई पनि लडे । तीन पटक जिल्ला पार्टी सभापति हुँदा उनले सुर्खेतलाई थर्कमान बनाएका थिए । उनी मधुमेह र उच्च रक्तचाप पीडित थिए । 

राजनीतिक एजेन्डामा उनी कुनै हालतमा झुक्दैन थिए । सुर्खेतमा आफूले भनेको नमानेको भन्दै धेरै पटक धेरै सरकारी कार्यालयका प्रमुखलाई हपारेका छन् । थुप्रै पटक उनीहरूको टेबुलमै पुगेर मुड्की बजारेका छन् । यसको चर्चा सुर्खेतमा धेरैपटक हुन्थ्यो । कतिपय कर्मचारी उनको ‘दादागिरी शैली’ भएको टिप्पणी गर्थे । कति कुरा समाचार बन्थे । कति कुरा उनको शैलीको चर्चा पनि ।

कर्मचारी काम गर्दैनन् । काम गराउनुपर्छ भन्ने उनको स्वभाव थियो । त्यसका लागि सुरुमा फकाउनु पर्छ । त्यतिले नमाने झपारेर भएपनि काम गराउनुपर्छ भन्ने उनको स्वभाव थियो । जो पछि उनको शैलीमा परिणत भयो । त्यहीँकारण पनि सानो कामका लागि उनीसम्म पुग्ने सर्वसाधारण तथा कार्यकर्ताको संख्या बढ्न थाल्यो । २० वर्ष जिल्ला पार्टी सभापति बनेका उनले आफ्नै शैली बनाएका थिए । सुर्खेतमा कांग्रेसको जग बलियो बनाएका थिए । विकासका लागि मरिहत्ते गर्ने तर त्यसमा हुने विवादका कारण उनी बेला बेला चर्चामा पनि आउँथे ।

‘उनी कामका लागि सबथोक गर्थे । कर्मचारीलाई फकाउँथे । नमाने हपार्थे पनि’ नेपाल पत्रकार महासंघ, जिल्ला शाखा सुर्खेतका अध्यक्ष ललित बसेलले इकागजसँग भने, ‘त्यही क्रममा विवाद हुन्थ्यो । त्यसको चर्चा हुन्थ्यो । तर उनले पश्चिम सुर्खेतको विकासका लागि धेरैथोक गरेका छन् । भेरी कर्णालीमा पुल हाल्ने ‘मेगा प्रोजेक्ट’ सञ्चालन गरे । यसकारण पनि उनलाई सुर्खेती जनताले सम्झिरहनेछन् ।’

सञ्चार राज्यमन्त्री भएकै बेला उनी चढेको गाडीले नयाँ बानेश्वरमा यात्रु चढेको गाडीलाई ठक्कर दियो । केही यात्रु घाइते भए । मिडियामा राज्यमन्त्री बिष्ट चढेको गाडीले यात्रुलाई ठक्कर दिएर भाग्यो, शीर्षकमा समाचार आयो । उनको आलोचना चुलियो । केही घाइते नजिकै रहेको एभरेष्ट अस्पतालमा भर्ना भएका थिए । राती भएपनि उनी अस्पताल पुगे । उपचारमा सहयोग गर्ने वाचा गरे । जसले समाचारमा स्थान पाएन । तर उनी गल्तीलाई स्वकार्दै अगाडि बढ्ने नेता थिए ।

एकपटक सुर्खेतमा उनी राज्यमन्त्री भएकै बेला होटल पञ्चकोशी अगाडि सडकमै सुरक्षाकर्मीबाट सलामी खाइरहेका थिए । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भयो । भिडियो भाइरल बन्यो । उनले त्यसलाई वास्ता गरेनन् । सुर्खेतमा उनले आप्mनो प्रभाव जमाएका थिए । सुर्खेतका हरेक पार्टी कार्यकर्तामा उनको नाम अमर छ । 

यसअघि दुईपटक उनलाई हृदयघात भएको थियो । एकपटक काठमाडौँबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमै सवार उनलाई हृद्यघात भएपछि भैरह्वामा आकस्मिक अवतरण गर्नुपरेको थियो । त्यतिबेला गम्भीर हुँदा पनि उनी बाँच्न सफल भए । तर यसपटक कोभिडसँग पनि उनले हारे ।

'मैले अभिभावक गुमाएँ' 

बिष्टको निधनमा यतिबेला सुर्खेत शोकाकूल छ । हरेक नेता कार्यकर्ताहरूका आँखामा आँशु छन् । धेरैलाई तप्त बिष्ट कोरोनाले गर्दा बिते भन्ने कुरामा विश्वास छैन । जसकारण सबैभन्दा ठूलो शोकमा छन्, सुर्खेत जिल्ला पार्टी सभापति कमलराज रेग्मी । २० वर्ष सुर्खेत जिल्लाको कांग्रेस नेतृत्व सम्हालेका बिष्टलाई रेग्मी अभिभावक मान्छन् । हामीले रेग्मीलाई फोन गरेर सोध्यौँ, ‘यो शोकको घडीमा बिष्टलाई कसरी सम्झिनुहुन्छ ?’

जवाफमा उनी रोए । धरधरी रोए । रुँदै भने, ‘यस्तो बेला के भनौँ र ?’ तर पनि सम्झिनैपर्ने कुरा केही त पक्कै होलान ? हामीले फेरि सोध्यौँ । जवाफमा रुँदै उनले भने, ‘उहाँ मेरो अभिभावक हो । २० वर्ष उहाँ पार्टी सभापति हुनुभयो । उहाँले बनाएको घरमा मैले नेतृत्व सम्हाल्ने मौका पाएको हुँ । उहाँ सुर्खेतमा कांग्रेसको उज्जवल नक्षेत्र हो ।’ 

त्यसपछि उनी झन् रोए । फोनमै उनी रोएनन् मात्रै । धरधरी रोएको सुनियो । त्यसभन्दा अगाडि उनले बोल्न सकेनन् । केही सेकेन्डपछि उनले भने, ‘अहिलेलाई यति बोलौँ हजुर ।’


Author

थप समाचार
x