राजनीति

गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छ : खानेपानी मन्त्री राई

इकागज |
असार ९, २०८१ आइतबार २०:२१ बजे

काठमाडौँ- खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट महत्वपूर्ण कोशेढुङ्गा साबित हुने बताएका छन् ।

विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा खानेपानी मन्त्रालयका शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको आज प्रतिनिधिसभाका जवाफ दिँदै खानेपानीमन्त्री राईले उक्त दाबी गरेका हुन् । 


'खानेपानीको लाइनमा बस्न नपर्ने अवस्थाको सिर्जना गर्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । खानेपानीका लागि कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने समस्याको अन्त्य गर्ने र तपाईंहरूले अर्कोचोटी प्रश्न नउठाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,' खानेपानी मन्त्री राईले भने ।

मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षति पछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषदमा स्वीकृति पाएको र त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उनले बताए । आयोजनाको दोस्रो चरणअन्तर्गतको कामका लागि लार्के र याङ्ग्री खोलाबाट समान दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउने गरी योजना निर्माण भइरहेको बताए । याङ्ग्री र लार्के खोलामा बन्ने हेडवर्क्ससम्म पहुँचमार्ग निर्माण भइरहेको उनको भनाइ छ ।

खानेपानी र सरसफाइ तीनवटै तहको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश र स्थानीय तहले पनि पर्याप्त बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे ।

आगामी आर्थिक वर्षका लागि तय भएको खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको खानेपानी मन्त्री राईले दाबी गरे । वार्षिक विकास कार्यक्रममा नपरेका धेरैवटा योजना कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरिरहेको पनि उनको भनाइ छ ।

एसियाली विकास बैंकको सहयोगमा विभिन्न स्थानीय तहमा खानेपानी आयोजनाको प्रक्रियाअघि बढेको र खानेपानी संस्थानले अघि बढाउने आयोजना पनि रातो किताबमा नपरेको उनको भनाइ छ । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालिन योजना मन्त्रालयले बताइरहेको खानेपानी राईले उल्लेख गरे ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ ।


Author

थप समाचार
x