राजनीति

नेपाली महिलालाई गैरकानुनी रूपमा कुवेत पुर्‍याइएकामा सरकारको ध्यानाकर्षण

इकागज |
असार १०, २०८१ सोमबार १४:५३ बजे

काठमाडौँ- सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रूपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराएका छन् । घरेलु कामदारका रूपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरे । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रूपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनी रूपमा रहेको तथ्य प्रस्तुत गरे । पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रूपमा कुवेत पुगेको सूचना प्राप्त भएको उनले बताए । 


सांसद गुरुङले आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै भने, 'झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति रु  ६ लाख ५० हजार लिएर बेल्ग्रेट पुर्याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'

सांसद सम्झना थपलियाले सिरहालगायत मधेशका अन्य जिल्लामा पछिल्लो समयमा शान्ति सुरक्षाको स्थिति कमजोर भएको उल्लेख गर्दै तीन महिनादेखि चोरी डकैतीका घटना बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद माधव सापकोटाले हिउँदमा अस्थायी संरचना निर्माण गरिए पनि बर्खामा बाढीले बगाउने गरेको उल्लेख गर्दै नागरिकले ती अस्थायी संरचना बगाएको टुलुटुलु हेर्नुको विकल्प नभएको बताए । 

सङ्घीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो ।


Author

थप समाचार
x