महिलालक्षित अभिव्यक्तिप्रति महिलामन्त्रीको आपत्ति, आत्मालोचना गर्न आग्रह
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विनियोजन विधेयकको छलफलका क्रममा केही सांसदले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि गरिएको विनियोजनको सम्बन्धमा आज प्रतिनिधिसभामा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले आपत्ति जनाएकी हुन् ।
'गत ज्येष्ठ ३१ गते सदनमा संशोधन गर्ने क्रममा केही माननीयज्युहरूले महिलाहरू असक्षम र सङ्कीर्ण सोच भएका हुन्छन् । सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था हुँदैनथ्यो भन्ने गरी दिएको अभिव्यक्ति तथा वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारेमा बोल्दै गर्दा महिलाहरूलाई कसैको रहर पूरा गर्न मनोरञ्जनको साधन तथा उपभोग्य वस्तुको रूपमा मात्र चित्रण गरिने गरी दिएको अभिव्यक्तिले सम्पूर्ण महिलाको आत्मसम्मान र मर्यादालाई अवमूल्यन गरेको छ,' मन्त्री चौधरीले भनिन् ।
मन्त्री चौधरीले सांसदबाटै यस्तोखाले अभिव्यक्तिले आम महिलाको आत्मसम्मानमा चोट पुगेको भन्दै उक्त अभिव्यक्तिप्रति आत्मा आलोचित हुन सम्बन्धित सांसदलाई आग्रह गरेकी छन् । 'महिलालाई हेर्ने यस प्रकारको विभेदकारी तथा सङ्कीर्ण सोच हाम्रो साझा शत्रु हो । यसलाई परास्त गर्नु हाम्रो साझा कर्तव्य हो । यसले हामीले सुधार गर्नुपर्ने भनी प्राथमिकतामा राखेका हानिकारक अभ्यासहरूलाई नै मलजल गर्ने कार्य गरेको महसुस भएको छ,' उनले भनिन्, 'यस प्रकारका अभिव्यक्तिबाट आम महिलाको आत्मसम्मानमा पुगेको चोटप्रति सम्बन्धित माननीयज्युहरू आत्मा आलोचित हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।'
अन्य क्षेत्रभन्दा मर्यादित तथा संवेदनशील गरिमामय यस संसदमा त बोलिने भाषाहरूप्रति जोकोही सचेत हुनुपर्ने महिला उनको भनाइ थियो । यसैगरी मन्त्री चौधरीले महिला मन्त्रालयको प्रमुख जिम्मेवारी महिला बालबालिका एवं ज्येष्ठ नागरिकको संरक्षण सुरक्षा र कल्याण गर्नु भएको भन्दै विगत केही वर्ष अघिसम्म ७५ जिल्लामा प्रभावकारी परिचालन गर्न सकेका मन्त्रालयका सक्षम र सबल महिला विकास अधिकृतहरूलाई अपर्झट मन्त्रालयबाट सरुवा गरिएर छिन्नभिन्न भएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया