राजनीति

मन्त्रिपरिषद् बैठक

विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय

इकागज |
असार १०, २०८१ सोमबार १७:२१ बजे

काठमाडौँ- सरकारले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले विश्व बैंकबाट उपलब्ध हुने ८० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिइन् । बैठकले कर्णाली प्रदेशमा पछिल्लो भूकम्पका कारण भएको क्षतिको पुनर्निर्माण र पुनःस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप आठ दशमलव १ मिलियन पाउण्ड स्टर्लिङ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने असार २७ देखि २९ गतेसम्म चीनमा आयोजना हुने उच्चस्तरीय सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको भ्रमण स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन् ।


बैठकले विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष पदमा डा रामप्रसाद धिताल र सदस्य पदमा मधुसुधन अधिकारी र झमकप्रसाद शर्मालाई नियुक्त गरेको छ । बैठकले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा डा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गरेको छ भने नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशक नियुक्तिका लागि कृषि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिमा उद्धवप्रसाद तिमल्सेनालाई मनोनयन गरेको छ । त्यस्तै बैठकले प्रतिलिपी अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ । 


Author

थप समाचार
x