राजनीति

महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

इकागज |
असार १४, २०८१ शुक्रबार ९:२ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपाले महामन्त्री डा. मुकुल ढकालले तयार गरेको पार्टीको वर्तमान अवस्थाबारेको प्रतिवेदनबारे छलफल गर्न असर १९ गते बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो । 


इलाममा भएको उपनिर्वाचनमा पार्टीको नराम्रो हारसँगै रास्वपाले देश भरका नेता तथा कार्यकर्ताको धारणा बुझेर प्रतिवेदन बनाउन महामन्त्री ढकाललाई कार्यादेश दिए अनुसार प्रतिवेदन बनाएर सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् ।

बैठक असार १९ गते बिहान ८ बजेदेखि बस्ने महामन्त्री ढकालले जानकारी दिएका छन् ।

महामन्त्री ढकालले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत कमजोर बनेको र अहिलेको जस्तै गरि अगाडि बढिरहेमा रास्वपा विवेकशील साझा पार्टीको बाटोमा जाने निष्कर्ष निकालेका छन् ।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुनेसमेत सुझाव दिएका छन् । 

महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफुले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउँदै उनले यसका लागि आफ्नो महामन्त्री पदसमेत जान सक्ने उल्लेख गरेका छन् ।


Author

थप समाचार
x