राजनीति

छानबिन समितिले २० समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने

इकागज |
असार १६, २०८१ आइतबार १५:२६ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले २० वटा समस्याग्रस्त सहकारीको अत्यावश्यक कागजात माग गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरण पठाउनका लागि पत्राचार गर्ने निर्णय गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए । उक्त सहकारीको सबै विवरण आएपछि अध्ययन गर्ने र अनुसन्धान सुरु गर्ने उनले बताए ।


त्यस्तै समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवका बारेमा विभिन्न आयोग, समितिका संयोजकहरूसँग छलफल गरेको छ । समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालीन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलगायतसँग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको समिति संयोजक थापाले बताए ।

पुराना अनुभवका आधारमा समितिले वस्तुनिष्ठ अध्ययन गरी निचोडमा पुग्न मद्दत पुर्याउने उनको भनाइ छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । 


Author

थप समाचार
x