राजनीति

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाइ छाड्छु : मन्त्री अर्याल

इकागज |
असार २१, २०८१ शुक्रबार १३:१५ बजे

तस्विरः फाइल फोटो

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले मन्त्रालयले विदेश जाने श्रमिकहरू नठगिने र म्यानपावर व्यवसायीहरूले पनि वैध रुपमा मात्रै रकम लिन पाउने गरी अध्ययन भइरहेको र छिटै कार्यविधि बनाउने बताए। उनले नेपालमा गैरबैंकिङ च्यानलबाट हरेक वर्ष दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ म्यान पावर व्यवसायीहरूले उठाइरहेको तथ्यांक आफूले पाएको भन्दै अहिले अध्ययन गरी व्यवस्थित गराउने तयारीमा आफू रहेको बताए।


उनले विदेश जाँदा सीप तालिम सिकेर जान आवश्यक रहेको र सरकार सोही दिशामा अग्रसर रहेको पनि बताए । 

उनले भने, ‘नेपालबाट विदेशिने तमाम नागरिकहरूको बारेमा हामीले सूक्ष्म तरिकाले अध्ययन गरेका छौँ। मेरो करिब १२४ दिन मन्त्रालयमा बस्दै गर्दा धेरै नै अध्ययन र निर्णय गर्ने तयारीमा फाइल पनि अघि बढेको छ। मैले अघि एउटा डाटा भनेको थिएँ, दुई खर्ब, एक अर्ब ६० करोड रुपैयाँ हरेक वर्ष गैरबैंकिङ च्यानलमा नेपालमा उठिरहेको म्यान पावर व्यवसायीहरूले उठाइरहेको नेपाली नागरिकहरूसँग जो विदेश जाँदै हुनुहुन्छ, भन्ने तथ्यांकमा पनि हामीले काम गरिरहेका छौँ। छिट्टै व्यवस्थित र मर्यादित हुनेछ।’

मन्त्री अर्यालले श्रमीकहरूलाई विदेशमा गएर पनि मर्यादित काम र उचित पारिश्रमिकको व्यवस्था मिलाउने गरी व्यवस्थित गरिने बताए।

 


Author

थप समाचार
x