राजनीति

अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्छ : अर्थमन्त्री पुन

इकागज |
असार २१, २०८१ शुक्रबार १४:४५ बजे

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले नेपालको भौगोलिक अवस्थिति अनुसारका अन्य देशहरूको अनुभव लिएर छिमेकी मुलुकसँगको नीति बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित कृषि क्षेत्रको रुपान्तरणमा नेपाल भन्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले नेपालको विश्वसँग सहजै अन्तरक्रिया गर्ने सम्भावना कम रहेकाले दुई छिमेकी मुलुकसँग अन्तरक्रिया गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै अन्य देशहरूको अनुभव लिएर सोही अनुसारको राजनीतिक संरचना, विदेश नीति, अर्थनीति र विकास नीति बनाउनुपर्नेमा जोड दिएका छन् । उनले ६० प्रतिशतभन्दा बढी जनसंख्या आबद्ध रहेको नेपालको कृषि क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादनमा भने २४ प्रतिशतमा सीमित हुन पुगेको बताए ।


उनले देशको अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा मुख्य योगदान सेवा क्षेत्रको ६० प्रतिशत हाराहारी रहेको र औद्योगिक क्षेत्रको निकै न्यून रहेको भन्दै कृषिको आधुनिकीकरणमार्फत कृषिको श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा आबद्ध गराउनुपर्ने धारणा राखे । उनले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कृषि लगानी दशक विगत देखिको नै योजना भएकाले र त्यसलाई निरन्तरता दिएको भन्दै भोलिका दिनमा सरकार परिवर्तन भएपनि नीति तथा योजनालाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री पुनले बजेटमार्फत आफ्नो कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । उनले सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यावसायिकरणमा योगदान पुग्ने बताए ।


Author

थप समाचार
x