राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पाए विश्वासको मत

इकागज |
असार २२, २०८१ शनिबार १६:१० बजे

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

शनिबार बसेको मधेश प्रदेशसभामा मुख्यमन्त्री सिंहले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १०१ जनामध्ये मुख्यमन्त्री सिंहलाई ६७ सांसदले विश्वासको मत दिएका थिए भने विश्वासको मतको विपक्षमा ३४ मत परेको थियो । मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।


मुख्यमन्त्री सिंहलाई कांग्रेस–एमालेका सासंदहरूले मत दिएका थिए । त्यसअघि उनले शनिबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका थिए । मधेश प्रदेशसभामा चौथो ठूलो दलको रूपमा रहेको जनमत पार्टीका सिंहको नेतृत्वमा गत जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो ।


Author

थप समाचार
x