राजनीति

गिरीबन्धुबारे ओलीलाई बालेनको अर्को कटाक्ष

इकागज |
असार २२, २०८१ शनिबार २१:१५ बजे

काठमाडौँ- काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे फेरि कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले वर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै तपाईँले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्, 'काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरीबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।'


बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्, 'अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैं गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?'

बालेनले भनेका छन्- 

'माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैं गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।'


Author

थप समाचार
x