राजनीति

आफू पक्षीय नेतासँग देउवाका तीन दिन

सकभर सहमतिमा नेतृत्व चयन गर्न सुझाव

मधुसुधन भट्टराई |
असार ७, २०७८ सोमवार २०:५ बजे

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई नफकाई अन्य नेताहरूलाई साथमा लिएर १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्‍ने भएका छन् । बरु पूर्वसंस्थापनका नेताहरूलाई फकाएर आफ्नो समूहमा ल्याउन प्रयत्न गर्ने तर निधिलाई नफकाउने निष्कर्ष देउवाको छ । तीन दिन लगाएर पार्टीमा आफ्नो पक्षका सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीसँग छुट्टाछुट्टै छलफलपछि देउवा त्यस्तो निष्कर्षमा पुगेका हुन् ।

‘खासै जनमत छैन, सकभर उम्मेदवार बन्दैनन्, बनेमा पनि प्रदेश दुईकै नेताहरूलाई उनको पक्षमा लाग्न नदिने, अर्को टिमका नेताहरूलाई ल्याउन प्रयास गर्ने, उनलाई नरोक्ने,’ छलफलपछि देउवाको निष्कर्षबारे स्रोतले भन्यो ।
 
देउवाले निधिबाहेक गुटलाई एकढिक्का बनाउने र अर्को समूहका नेताहरूलाई तान्‍न प्रयास गर्ने रणनीति बनाएका छन् । 


आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन काठमाडौंमा गर्ने कार्यतालिका गत शुक्रबार तय गरेपछि देउवाले तीन दिनसम्म सातै प्रदेशका आफ्नो गुटका नेताहरूसँग छलफल गरेका थिए । 

शनिबार प्रदेश-१ र प्रदेश-२, आइतबार बागमती र गण्डकीका गुटबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरूसँग छलफल गरेका देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग छलफल गरेका थिए । आइतबार र सोमबारको छलफलमा सबै नेताहरूको प्रश्‍न थियो, ‘विमलजीले उम्मेदवार बन्छु सहयोग गर्नुस् भनेको बाहिर आएको छ, के हो ?’

‘दुई कार्यकाल सभापति बन्न पाइने विधानमा व्यवस्था छ । पहिलो कार्यकाल मैले सम्पन्‍न गरे । दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन्छु । सबै साथी समेटिनु भएकै छ । अब पनि समेटिनुहुन्छ । लोकतन्त्रको सम्बद्र्धन, संविधानको कार्यान्वयन र प्रवर्धन गर्न सक्छु । म भएमा टिम एकजुट हुन्छ । सहयोग गर्नुस्,’ देउवाको भनाइ उद्धृत गर्दै नेता बालकृष्ण खाणले भने, ‘सबै साथीहरूको अनुभव र क्षमता अनुसार जिम्मेवारी दिन्छु । सबैसँग कुरा गर्छु ।’

त्यसपछि नेताहरूले निधिबारे थप स्पष्ट पार्न भने । त्यसमा देउवाको छोटो र सहज जवाफ थियो, ‘उहाँले उठ्छु भन्‍नुभएको छ, त्यसमा त कसरी छेक्न सक्छु र ?’ 

देउवासँगको छलफलमा सहभागी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेताहरूले निधिको उम्मेदवारीबारे सोधेपछि देउवाले उठ्छु भनेको सत्य हो भन्ने जवाफ दिएका थिए । ‘उहाँले सभापतिमा उम्मेद्वारी दिन्छु भनेको सत्य हो । सभापतिमा उठ्ने-नउठ्ने उहाँको स्वतन्त्रताको कुरा हो,’ देउवाको भनाइ उद्धृत गर्दै इकागजसँग भने । 

देउवाले निधिबारे घुमाउरो पारामा आफू सभापति भएपछि मात्रै केन्द्रीय समितिमा पार्टीका विभिन्‍न भूमिकामा सबै नेताहरू समायोजित हुन सक्ने अवस्था हुने भएको समेत बताएका थिए । 

देउवाले लोकतन्त्र र संविधान बचाउन तथा कांग्रेसलाई राजनीतिमा मुख्य शक्ति बनाउन आफूलाई जिताउन सहयोग गर्न सबैसँग आग्रह गरेका थिए । ‘सबै साथीहरूसँग मेरो आग्रह छ । लोकतन्त्रमाथि सबैतिरबाट प्रहार भइरहेको छ । संविधानमाथि पनि चारैतिरबाट प्रहार भइरहेको छ । लोकतन्त्र र संविधान बचाउन नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने अवस्था छ,’ देउवाको भनाइ थियो, ‘तसर्थ महाधिवेशनबाट हामीले एकताको सन्देश दिनु छ । सहमतिमा नेतृत्व चयन भएमा त्यो सम्भव हुन्छ । मेरो सम्बन्ध, क्षमता र अनुभवले कांग्रेस बलियो बनाउन, लोकतन्त्रको संवर्द्धन गर्न, संविधानको रक्षा गर्न, जनअधिकार स्थापित गर्न सहयोग पुग्छ भन्‍ने मलाई लागेको छ ।’
 
नेताहरूले सबै राजनीतिक दलले राष्ट्रिय राजनीतिमा कांग्रेसले अगुवाइ गर्नुपर्‍यो भन्‍ने बेलामा सहमतिमा पार्टीमा नेतृत्व चयन गर्न प्रयास गर्न देउवालाई सुझाएका थिए । देउवाले पनि सबै नेताहरूसँग छलफल गरेरै अगाडि बढ्ने बताएका थिए । 

आइतबार बागमती र गण्डकीका नेताहरूले टिमबाट देउवा नै सभापतिमा निर्विकल्प उम्मेदवार भएको बताएका थिए । ‘सभापतिमा तपाई निर्विकल्प उम्मेद्वार हो । तर निर्वाचनमा हाम्रो टिम सबैलाई मिलाएर अघि बढ्नुपर्छ,’ नेताहरूको सुझावबारे छलफलमा सहभागी केन्द्रीय सदस्य मोहन बस्‍नेतले भने, ‘विमलेन्द्र निधिले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेको कुरा बाहिर आएको छ । उहाँलाई जसरी भए पनि मिलाउनु पर्छ । कुन ठाउँमा ‘एडजस्ट’ गर्ने हो । त्यो पहिल्यै एकिन गर्नुस् । मिलेर सभापतिमा उम्मेदवार बन्‍नुपर्छ भन्‍ने नेताहरूको सुझाव थियो ।’

प्रदेश-१ र प्रदेश-२ का निधिबाहेकका नेताहरूले देउवालाई नै सघाउने बताएका थिए । 

सोमबारको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, नेताहरू बालकृष्ण खाँण, एनपी साउद, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, कृष्णकिशोर घिमिरे, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, डिल्ली चौधरी, देवेन्द्र कँडेल, रमेश लेखक, वीरबहादुर बलायरसहितका नेता सहभागी थिए । 

आइतबारको बैठकमा बागमती र गण्डकीका गरी १४ नेताहरू सहभागी थिए । बैठकमा सहमहामन्त्री प्रकाशशरण महत, डिना उपाध्याय, मोहनबहादुर बस्‍नेत, अम्बिका बस्‍नेत, शिवप्रसाद हुमागाईं, सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, शंकर भण्डारी, विष्णुविक्रम थापा, किरण गिरीलगायतका नेता सहभागी थिए ।

शनिबार प्रदेश१ र प्रदेश-२ का नेताहरूसँग छुरूछुट्टै छलफल गरेका थिए । प्रदेश-१ बाट उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, डिला संग्रौला, भिष्मराज आङदम्बे, सुजाता परियार, बाबुराम बस्‍नेत, रामचन्द्र भट्टराईसहितका नेता उपस्थित थिए । प्रदेश-१ का नेताहरूसँगको छलफलमा देउवाले सभापतिमा उम्मेदवार बन्‍ने बताउँदै जित्‍न के गर्नुपर्छ भनेर सुझाव मागेका थिए । 

‘सभापतिमा मैले पनि विधानले दिएको कुरा गर्नै पर्ने होला । मेरौ जिम्मेवारी पनि छ । राष्ट्रिय राजनीतिमा सबैको समन्वयकारी भूमिका कांग्रेसले गरिरहेको छ । मैले गरिरहेको छु,’ देउवाको भनाइ उध्रित गर्दै विश्‍वकर्माले इकागजसँग भने, ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन् । पहिलेको अवस्थामा पनि त्यति राम्ररी काम गर्न पाइएन । तसर्थ मैले उम्मेदवार बन्‍ने विचार गरेको छु, के गर्ने ?’

प्रदेश-२ को छलफलमा उपसभापति निधिसहित, महेन्द्र यादव, आनन्दप्रसाद ढुंगाना शम्भुलाल श्रेष्ठ, दिनेश यादव, जंगीलाल यादवलगायतका नेताहरू उपस्थित थिए ।  देउवाले सभापतिमा सहयोग गर्न पर्‍यो भन्दा वित्तिकै निधिले तयाईंको सहयोगमा म सभापतिको उम्मेदवार बन्छु, सहयोग गर्न पर्‍यो भनेका थिए । तर, देउवाले भने अहिले मलाई सहयोग गर्नुस्, १६ औं महाधिवेशनमा सहयोग गर्छु भनेका थिए ।  


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x