राजनीति

संसदीय समितिले भन्यो- नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भयो

इकागज |
असार २७, २०८१ बिहीबार १६:५१ बजे

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले नियमनकारी निकाय कमजोर हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको देखिएको जनाएको छ ।

बिहीबार सिंहदरबारमा विभिन्न सरोकारवाला निकायसँगको छलफलमा क्रममा राज्यका नियमनकारी निकायहरूले ध्यान नदिँदा र कमजोर नियमन हुँदा सहकारी क्षेत्रलाई दुरुपयोग गर्ने व्यक्तिहरूले मौका छोपेको निष्कर्ष निकालिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । सहकारी क्षेत्रमा संरचनागत प्रबन्धको कार्यान्वयन नगर्ने, कानुनले निर्धारण गरेका संरचना बनाउँदै नबनाउने, नियमनकारी निकायहरू कमजोर हुने र दोस्रो चरणको नियमनकारी निकाय २० वर्षसम्म छलफलमा मात्रै सीमित हुँदा सहकारी क्षेत्रको दुरुपयोग भएको उनले बताए ।


बिहीबार समितिले अर्थ सचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतसँग सहकारी क्षेत्रको समस्याका बारेमा छलफल गरेको समिति संयोजक थापाले जानकारी दिए ।

संविधानले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा लिएको सहकारी क्षेत्रको संरचनागत संयन्त्र, सहकारी क्षेत्रको विकृति, बचत अपचलन लगायतका समस्याको समाधानको उपायका सन्दर्भमा छलफल गरिएको उनको भनाइ छ ।


Author

थप समाचार
x