राजनीति

अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव छैन : पूर्वराष्ट्रपति भण्डारी

इकागज |
असार २९, २०८१ शनिबार १८:५३ बजे

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अशान्ति र हिंसाबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी छन् ।

जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूह र मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौँको शंकरापुर–३ जरसिंह पौवामा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बोल्दै भण्डारीले अहिले मुलुकका नागरिकहरू धेरै सचेत भइसकेको भन्दै अशान्ति र हिंसाको बाटोबाट सत्ता प्राप्त गर्न सम्भव नभएको बताएकी हुन् ।


जनआन्दोलन र सशस्त्र द्वन्द्वमा निकै फरक रहेको उनले बताइन् । उनले हिजो कम्युनिष्टहरूलाई आलोचना गर्दा सर्वसत्तावादी वा सशस्त्र संघर्षबाट मात्रै सत्ता जन्मिन्छ भन्ने अवस्थाको आज धेरै विकल्प आइसकेको धारणा राखिन् । जनमतबाट मात्रै सत्ता जन्मिने भएकाले जनतालाई विश्वास गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले वनको दिगो विकासको अवधारणामा जानुपर्ने र वृक्षरोपण गरेपछि संरक्षणमा ध्यान दिन सुझाव दिइन् । वन क्षेत्रको विकासका साथै वातावरणलाई सन्तुलनमा राख्न वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको जहरसिंह पौवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फुर्वा लामाले बताए ।

सो अवसरमा विभिन्न जातका करिब डेढ सय बिरुवा रोपिएको थियो ।


Author

थप समाचार
x