राजनीति

प्रधानमन्त्री ओलीको शपथ आज

इकागज |
असार ३१, २०८१ सोमबार ७:२८ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिँदैछन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । आजै नवनियुक्त मन्त्रीहरूले पनि शपथ दिलाउने तयारी गरिएको छ ।

आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त्त गरेका थिए ।


ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

यस अघि शुक्रबार राति नेपाली कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी पेश गरेका थिए । कांग्रेस र एमालेका १६६ सांसदको हस्ताक्षरसहित ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । 

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार नै संसद्‌मा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर सरकार बनाउन दाबी पेश गर्न आइतबार ५ बजेसम्मको समय दिएका थिए ।


Author

थप समाचार
x