Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

संघीय मन्त्रिपरिषदमा २७ वर्षपछि मुगुको प्रतिनिधित्व

इकागज |
असार ३१, २०८१ सोमबार २१:२७ बजे

मुगु- हिमाली जिल्ला मुगुले २७ वर्षपछि संघीय सरकारमा प्रतिनिधित्व पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रतिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका थिए । विसं २०५२ पछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा समेत मल्ल शिक्षा राज्यमन्त्री भएका थिए । उनी विसं २०५३ सम्म मन्त्री रहे तर त्यसयता धेरै सरकार बने पनि मुगु जिल्लाबाट प्रतिनिधित्व हुन सकेको थिएन । 

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सत्ता गठबन्धनको नवगठित सरकारमा २३ वर्षपछि मुगुबाट प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने एकल व्यक्ति हुन् ।


मन्त्री शाहीको राजनीतिक पृष्ठभूमि

नेपाली कांग्रेस मुगु जिल्ला पार्टी सभापतिसमेत रहेका मन्त्री शाही जिल्लामा  मदुभाषी  र शालीन नेताका रूपमा चिनिन्छन् । गत निर्वाचनमा मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विसं २०२६ फागुनमा यहाँको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मिएका थिए । विसं २०४४/४५ देखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा लागेका शाही २०४८–०५१ र २०५२/५३ मा तत्कालीन शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिवसमेत भएका थिए । कांग्रेस जिल्ला सदस्य हुँदै उनी विसं २०६८ मा पार्टीको जिल्ला सभापतिमा निर्वाचित भए । मन्त्री शाही विसं २०७८ मा दोस्रोपटक कांग्रेस जिल्ला सभापति निर्वाचित भए ।

विसं २०७० मा संविधानसभा सदस्य उम्मेदवार बनेका उनी झिनो मतान्तरले एमालेका मोहन बानियाँसँग पराजित भएका थिए । विसं २०७९ को आमनिर्वाचनमा भने प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्कीलाई पराजित गर्दै शाही चार हजारभन्दा बढीको मतान्तरसहित विजयी भए । शाहीले १४ हजार सात सय छ मत प्राप्त गर्दा कार्कीले १० हजार सात सय १० मत प्राप्त गरेका थिए ।  

शाहीले स्नातक तह उत्तीर्ण गरेका छन् । 


Author

थप समाचार
x