राजनीति

यस्तो छ नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको जीवनी

इकागज |
असार ३१, २०८१ सोमबार २१:३४ बजे

झापा- नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल झापाको दमक निवासी हुन् । 

विसं २०१५ भदौ १६ गते ताप्लेजुङमा जन्मिएका मन्त्री दाहाल हाल दमक नगरपालिका–५ मा स्थायी बसोबासी हुन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मन्त्री बनेका दाहाल पार्टीको पोलिटब्युरो सदस्य एवं स्थानीय विकास विभागको प्रमुख जिम्मेवारीमा थिए ।


उनी नेपालमा पञ्चायती व्यवस्थाविरुद्ध २०३६ सालमा सुरु भएको विद्यार्थी आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट पार्टीको राजनीतिमा प्रवेश गरेका हुन् । 

लामो समयसम्म झापाको राजनीतिमा रहेर विभिन्न तहको जिम्मेवारी पूरा गरेका मन्त्री दाहाल सङ्गठन सञ्चालन काम गर्ने क्रममा २०४५ सालदेखि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) को झापा जिल्ला कमिटीमा आबद्ध भएका थिए । 

विसं २०५१ सम्म नेकपा मालेदेखि एमालेसम्मको जिल्ला कमिटी सचिवालयको जिम्मेवारीमा काम गरे । विसं २०५१ देखि २०५३ सम्म जिल्ला उपसचिव रहेका मन्त्री दाहाल विसं २०५३ जेठ २३ गतेदेखि विसं २०६६ भदौ २७ गतेसम्म एमाले झापाको नेतृत्व सम्हालेका थिए । 

उनीसँग करिब १३ वर्ष अर्थात् चार कार्यकाल झापा एमालेको नेतृत्व गरेको अनुभव छ । उनले झापामा २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी कमाण्डसमेत उनले सम्हालेका थिए । 

उनी विसंं २०५१ देखि शिक्षकको जागिर छाडेर राजनीतिमा पूर्णकालीन भएका हुन् । राजनीतिक परिवर्तनमा खास समयमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनले २०४६ सालको जनआन्दोलनमा जिल्ला जनआन्दोलन मूल समितिको जिम्मेवारी र २०६२/६३ सालको जनआन्दोलनमा झापाको कमाण्डरको जिम्मेवारी पनि सम्हालेका थिए । 

विसं २०७२ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला दाहालले उनको जनसम्पर्क सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । त्यसैगरी विसं २०७६ मा भएको राष्ट्रियसभा सदस्यमा  निर्वाचित भएका थिए । 

विसंं २०४२ मा शिक्षक आन्दोलनका क्रममा उनलाई प्रहरीले हिरासतमा राखेको थियो भने २०४६ को जनआन्दोलनमा पनि हिरासतमा परेका उनी जनआन्दोलनको सफलतापछि रिहा भएका थिए । 


Author

थप समाचार
x