राजनीति

वनलाई जनताको समृद्धिसँग जोड्ने गरी काम गर्नेछौं : नवनियुक्त मन्त्री शाही

इकागज |
असार ३१, २०८१ सोमबार २१:५७ बजे

काठमाडौँ- नवनियुक्त वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई जनताको जीविकोपार्जन र मुलुकको समृद्धिसँग जोड्ने गरी काम गर्ने बताएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै उनले वन तथा वनस्पतिको संरक्षणसँगै यसलाई जनताको जीविकोपार्जनसँग पनि जोड्न आवश्यक रहेकामा जोड दिए ।

मन्त्री शाहीले मन्त्रालयसँग सम्बन्धित कामलाई परिणाममुखी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए ।


उनले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्न सक्दो प्रयास गर्ने बताए । जैविक विविधतालाई संरक्षण गर्दै पर्या–पर्यटनको विकासमा योगदान पुग्ने गरी काम गर्ने उनको प्रतिबद्धता थियो । मन्त्री शाहीले नियमकानुनले मिल्नेबाहेकका काममा आफूले कुनै दबाब नदिने तर कानुनअनुसार कर्मचारीले कुनै आनाकानी नगरी परिणाममुखी काम गर्नुपर्ने उल्लेख गरे । उनले वनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बनाउने गरी योजना बनाइने बताए । 

कार्यक्रममा मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले मन्त्री शाहीलाई स्वागत गर्दै आफ्ना धारणा राखेका थिए भने मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाले मन्त्रालय र मन्त्रालय मातहतका निकायबारे जानकारी गराएका थिए ।


Author

थप समाचार
x