राजनीति

पाँच दिनभित्र समस्या समाधानको आवश्यक खाका तयार पार्न स्वास्थ्यमन्त्री पौडेलको निर्देशन

इकागज |
साउन २, २०८१ बुधबार २१:३ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याको समाधानका लागि आवश्यक खाका बनाउन आग्रह गरेका छन् ।

मन्त्री नियुक्त भएपछि पहिलोपटक मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरूसँगको ब्रिफिङसहितको भेटघाटमा मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि समाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजनासहितको खाका तयार गर्न भनेका हुन् । 'सबै महाशाखाबाट समस्याका कुराहरू आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौँ, त्यसका लागि पाँच दिनभित्र मलाई लिखित रूपमा समाधानका विकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौँ,' मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने ।


उनले स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए । पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने, 'हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रित हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामीले प्राप्त गर्न सकेका छैनौँ, आफूले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौँ ।'

मन्त्री पौडेलले कानुनको अम्ब्रेलाबाट बाहिर कोही हुन नहुनेसमेत जिकिर गरे । उनले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सही ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए । पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे ।

यस्तै उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामीण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका विभागीय प्रमुखहरूसँग आग्रह गरे ।

'जनशक्तिलाई बेकामे नराखौं, छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरूलाई ग्रामीण क्षेत्रमा पहिले सेवा गर्नु पर्ने गरेर योजना बनाऔँ, ग्रामीण क्षेत्रमा नगए सहरी क्षेत्रमा आउन सकिन्न भन्ने स्पष्ट होस, ग्रामीण क्षेत्रलाई पहिले प्राथमिकता राखौँ, त्यसलाई गाइड गर्ने गरेर नीति बनाऔँ,' मन्त्री पौडेलले भने ।

उनले कुन डाक्टरको काम कहाँ हो त्यहाँ पठाउने गरेर क्याटेगोराइज गर्दा धेरै समस्याको समाधान हुने बताए । मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेर समेत जनचेतनामूलक सामग्री पुर्याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए ।

मन्त्री पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेलसहित विभिन्न महाशाखाका प्रमुखहरूले मन्त्रालयको विभागीय काम, जिम्मेवारी, अवस्था र कामकारबाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए ।


Author

थप समाचार
x