Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन

इकागज |
साउन ३, २०८१ बिहीबार १८:४६ बजे

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाडौँ उपत्यका खानेपानी तथा सरसफाइ आयोजना, मेलम्ची उपआयोजना–२ बारे जानकारी लिने क्रममा उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, 'हामीले काममार्फत मेलम्ची खानेपानी आयोजनासम्बन्धी सिर्जित गलत भाष्य चिर्नुपर्छ र जनतालाई मेलम्चीको पानी बाह्रै महिना कसरी पु-याउन सकिन्छ त्यसतर्फ दिन रात नभनी काम गर्नुपर्छ । यसका लागि म प्रतिबद्ध छु ।'

मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली सुधार र फोहर पानी व्यवस्थापन आयोजनाको प्रगति तथा सञ्चालनमा रहेका कार्यक्रमबारे जानकारी लिएका थिए । उनले मन्त्रालयको प्राविधिक र प्रशासनिक कार्यबारे जानकारी लिँदै जनताको गुनासो ध्यानमा राखी मन्त्रालयका कर्मचारीसँग मिलेर काम गरिरहेको जानकारी दिए ।

उनले स्थानीय सरकारसँग समन्वयको आवश्यकता औंल्याउँदै काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसँग टेलिफोनमा छलफल भएको उल्लेख गरे । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका विषयमा प्राप्त गुनासोले आफू गम्भीर रहेको बताउँदै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । 

'म पार्टीभन्दा जनताको मन्त्री हुँ, मेरो पहिलो प्राथमिकता जनताको समस्या समाधान गर्नु हो,' उनले भने, 'मेलम्चीको मुहान सार्ने काम र वर्षभरि काठमाडौँका बासिन्दालाई खानेपानी पु-याएर देखाउनुपर्छ ।'



Author

थप समाचार
x