राजनीति

विवादमा उपसभामुख राना

इकागज |
साउन ४, २०८१ शुक्रबार ९:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित ६ जनाको भिसाको अन्तरवार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् । 

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तरवार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ । 


रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तरवार्ताको समय तत्काल उपलब्ध गराईदिन आग्रह गरेकी छन् । 

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद्‌ सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तरवार्ताको लागि सिफारिस गरेकाले प्रश्न उठेको हो । उपसभामुखसमेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरू संसद्‌ र संसद्‌ सचिवालयसँग सम्बन्धि नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।

विभिन्न सञ्चारमाध्यममा उनले आफुले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिएपनि यस प्रकरणमा उनको यो प्रतिक्रिया प्रयाप्त हुने देखिँदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रुपमा नै सामसुम पारिएको देखिएको छ ।

उपसभामुख रानाले जस्तो दलिल दिएपनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिँदै यो गम्भीर विषय भएको बताएका छन् । उपसभामुख संवैधानिक परिषद्‌को सदस्यसमेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ ।


Author

थप समाचार
x