राजनीति

सरकारको कार्यसम्पादन अघि बढाउनका लागि सुझाव दिन राजनीतिक दललाई प्रधानमन्त्रीको आग्रह

इकागज |
साउन ४, २०८१ शुक्रबार १६:४९ बजे

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यसम्पादन अघि बढाउनका लागि सुझाव दिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा एमालेको सुझाव पत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले विरोधमात्रै नभई सरकारको कार्यसम्पादन अघि बढाउनका लागि समाधानका उपायसहितको सुझाव दिन आग्रह गरेका हुन् ।


उनले सरकारलाई अघि बढाउने विषयमा दलहरूको सुझाव मूल्यवान हुने धारणा राखे । ओलीले सरकारको ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको धारणा पनि राखे । आगामी विक्रम सम्बत २१०० अर्थात १९ वर्षमा समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्ने लक्ष्यका साथ अघि बढ्ने पनि उनले बताए ।

सो क्रममा एमालेका महासचिव शंकर पोखरेलले एमालेका २८ वटा विभागहरूबाट प्राप्त सुझावहरू प्रधानमन्त्री केपी ओलीलाई हस्तान्तरण गरेका थिए । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुशासन, आर्थिक क्षेत्रको सुधार, मौलिक अधिकार स्थापित लगायतका विषयमा ध्यान केन्द्रित गर्न सुझाव दिइएको बताए ।

एमालेले पार्टीले दिएका सुझावहरूको अध्ययन र कार्यान्वयनले जनतामा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान हुने विश्वास लिएको जनाएको छ । 


Author

थप समाचार
x