नेता तथा सांसदहरूले प्रतिक्रिया
'नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ'
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा वर्तमान सरकार गठन भएपछि जनतामा आशा र उत्साहको सन्देश प्रवाह भएको विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूले प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाबाट प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनीहरूले वर्तमान राज्यसत्तामा सरकारको राम्रो पकड भएकाले राष्ट्रियता, आर्थिक अनुशासन कायम र सुशासन प्रवर्द्धन गर्न सफल हुने विश्वास व्यक्त गरे ।
एमालेका नेता योगेशकुमार भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमति तथा अरू दलको सहयोग र समर्थनमा बनेको वर्तमान सरकारका अगाडि अर्थतन्त्रलाई सकारात्मक दिशा दिने, लगानीको वातावरण बनाउने र रोजगारीको अवसर बढाउने ऐतिहासिक कार्यभार र दायित्व रहेको बताए ।
विदेश पलायन भएका जनशक्तिलाई देशभित्रै रहने वातावरण बनाउनेलगायतका केही मुख्य जिम्मेवारी रहेको बताउँदै उनले भने, 'असाधारण ढङ्गले असाधारण काम गर्नका लागि हामी एक ठाउँमा आएका हौँ ।'
नेता भट्टराईले देशभित्र जनतामा आत्मविश्वास बढाउने, दलका बीचमा सहमति निर्माण गर्ने गरी संविधानको पुनरावलोकन र समीक्षा गर्दै आवश्यक परेमा संशोधन समेत गर्ने समेत दायित्व रहेको बताए ।
नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले आजको वर्तमान परिस्थितिलाई ध्यानमा राखी मुलुक र जनहितमा उठेको प्रश्न र समस्या समाधान गर्नेतर्फ नयाँ सरकारको ध्यान जान आवश्यक रहेको प्रतिक्रिया दिए ।
उनले भने, 'विश्वासको मत लिने सिलसिलामा सदनमा आफूले राखेका कुरालाई सम्बोधन गरी सबैलाई विश्वासमा लिएर अघि बढ्ने विषयलाई ख्याल गर्नुपर्छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा जोड दिनुपर्छ ।'
नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा राजनीतिक अस्थिरता हटाउन साना दलको समेत सहभागितामा गठन भएका सरकारमा लोकतन्त्रप्रतिको गहिरो सम्मान र प्रतिबद्धता रहेको प्रतिक्रिया दिए ।
उनले भने, 'मुलुकमा लोकतन्त्र स्थापनाका लागि जति पनि भएका आन्दोलनको नेतृत्व गरेको राजनीतिक परिवर्तन आन्दोलनको नेतृत्व गरेका प्रमुख दलबीचको सहकार्यले राजनीतिक स्थिरता, विकास र समृद्धिमा गुणात्मक अन्तर आउँछ ।'
नयाँ सरकार गठन भएसँगै अर्थतन्त्र चलायमान हुने तथा निजी क्षेत्रको आत्मविश्वास बढ्ने सङ्केत देखिएको बताउँदै नेता महतले भने, 'वर्तमान सरकार सफल हुन्छ । चुनौती धेरै छन्, त्यसलाई पच्छ्याउन धेरै मेहनत र समन्वयका साथ काम गर्नुपर्छ अनि जनताको आशा विश्वासमा परिणत हुन्छ ।'
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेत्री एवं पूर्वमन्त्री रेखा शर्माले सरकारले गर्ने कामको गुण र दोषका आधारमा प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, 'पश्चगमनमा जाने कुरालाई समर्थन गर्दैनौँ । त्यसको डटेर मुकाबिला गर्छौं । सकारात्मक काममा रचनात्मक सहयोग गर्छौं ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया