दुई तिहाई सांसदको विश्वास पाएपछि प्रधानमन्त्री ओलीले दिए धन्यवाद
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
प्रतिनिधिसभामा दुई तिहाइको बहुमत पाएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभाका सबै सदस्यहरूलाई धन्यवाद दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको उल्लेख गर्दै यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ । यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु । प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद !'
प्रधानमन्त्री ओलीले आज आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन् । उनले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ र तटस्थमा १ मत खसेको थियो । २७५ सदस्यीय प्रतिनिधि सभामा २६३ जना उपस्थित थिए ।
योसँगै प्रधानमन्त्री ओलीले दुई तिहाई सांसदको विश्वास जितेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, नाउपा, लोसपालगायत दुई स्वतन्त्र सांसदले मत दिएका थिए । त्यस्तै उनको प्रस्तावको विपक्षमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, जनमोर्चा रहेका थिए ।
ओली साउन ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ४ अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ वैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया