Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

कृष्णमान प्रधानका विषयमा थप छलफल गर्ने संसदीय सुनुवाई समितिको निर्णय

इकागज |
साउन ९, २०८१ बुधबार १७:२५ बजे

काठमाडौँ - संसदीय सुनुवाई समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानका विषयमा थप छलफल गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार प्रस्तावित आयुक्त प्रधानसँग छलफल गरेपछि समितिले यस विषयमा थप छलफल गर्नुपर्ने निष्कर्ष निकालेको हो । 


अब समितिको अर्को बैठकले निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय लिने छ । त्यसअघि बैठकमा सांसदले उनीविरुद्ध परेको उजुरीका सम्बन्धमा प्रश्न राखेका थिए भने प्रधानले त्यसको जवाफ दिएका थिए । समिति सदस्य महेश बर्तौलाले प्रधानका विरुद्ध गम्भीर उजुरी परेको भन्दै त्यसको जवाफ दिन माग गरेका थिए । 

त्यस्तै समिति सदस्य जीवन परियारले चरित्रका बारेमा नै प्रश्न उठिसकेपछि आफूलाई आरोपबाट मुक्त गर्ने आधारका बारेमा प्रश्न गरेका थिए । 

त्यस्तै समिति सदस्य जनार्दन शर्माले उजुरी हेर्दा निकै गम्भीर देखिएको र यसले उच्च नैतिक चरित्रको विषय आकर्षित हुनसक्ने उल्लेख गरे । 

समिति सदस्यहरूले प्रश्नको जवाफ दिँदै प्रधानले आफूले समितिबाट उजुरी प्राप्त नगरेको र पत्र पत्रिकाबाट जानकारी पाएको बताए । 

उनले यसअघि आफ्नो कार्यालयमा कार्यरत कर्मचारीले कानून विपरीत काम गरेकाले अदालतमा उजुरी गर्दा विवाद निरुपण भएको बताए । अदालतमा मिलेको विषयमा समितिमा उजुरी गर्नु कतिको उचित हुन्छ भन्दै उनले प्रश्न गरे । 

उजुरी गर्दैमा उच्च नैतिक चरित्र हो की होइन भनेर मूल्याङ्कन गर्न नहुने उनले बताए । प्रधान विरुद्ध समितिमा यौन दुर्व्यवहार लगायतका उजुरी परेका थिए । केही दिन अघि बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।


Author

थप समाचार
x