राजनीति

प्रदेश सरकार गठनमा देउवा पक्षले एकलौटी मन्त्री पठाए अप्ठ्यारो अवस्था आउने शेखरको चेतावनी

इकागज |
साउन ९, २०८१ बुधबार २१:३४ बजे

फाइल फाेटाे

काठमाडौँ- केन्द्रमा सत्ता समीकरण भएसँगै प्रदेशमा सत्ता फेरबदल भइरहेको छ । अहिले केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बनेको छ । यसअघि माओवादी र एमालेको सरकार थियो ।

यसअघि प्रदेशमा बनेका सरकारले धमाधम राजीनामा दिँदै कांग्रेस र एमालेले प्रदेश सरकार सञ्चालनमा दाबी गर्दै आइरहेका छन् ।


तर मुख्य दल नेपाली कांग्रेसको संस्थापन पक्ष इतर समूह डा. शेखर कोइराला समूहसँग छलफल नगरी एकलौटी अगाडि बढिरहेको छ। 

केन्द्र सरकारमा कोइराला समूहले चार वटा मन्त्री लिएर आफ्नो जग दह्रो बनाउँदै लगिरहेको समयमा सभापति शेरबहादुर देउवा प्रदेश सरकारमा मनमौजी हिसाबले चलिरहेका छन ।

सभापति देउवाले  प्रदेश सरकार गठन र मन्त्रीहरूका नाम पठाउने सवालमा अहिलेसम्म नेता डा कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय गरेका छैनन् । यसले प्रदेश सरकार सञ्चालनमा देउवा एकलौटी चल्न खोजेका छन् ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे मंगलबार दिउँसो बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा शेखर कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफलसमेत गरेका थिए  । 

छलफलमा कोशीमा - २, बागमतीमा - ३, गण्डकीमा- २, लुम्बिनीमा - २, कर्णालीमा - १ र सुदुरपश्चिममा - १ जना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठक सकिए लगत्तै शेखर कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएका थिए । तर अहिले सम्म पार्टी सभापतिबाट कुनै जवाफ आएको छैन । 

विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचार बाहेक डा. कोइराला पूर्ण रुपमा अनभिज्ञ छन् । उनले चासोलाई बेवास्ता गर्दा देउवा समूहलाई अप्ठ्यारो पर्न सक्ने इतर पक्षको धारणा छ ।


Author

थप समाचार
x