Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

राजनीति

दोलखा भीमेश्वरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा

इकागज |
साउन ११, २०८१ शुक्रबार १८:२९ बजे

काठमाडौँ- दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको तर्फबाट क्षमा पूजा गरिएको छ ।

दोलखा भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्र र जनतामा अनिष्ट हुने जनविश्वास छ । भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छाडेर भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहिआएको छ ।


सोही परम्पराअनुसार राष्ट्रपतिको कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गरिएको हो । क्षमा पूजामा ११ जना पुरोहितले लघुरुद्री पाठ, यज्ञ होम, ग्रह पूजा र मुलुकमा शान्तिको कामनासहित माङ्गलिक दोष शान्ति पूजा गरिएको थियो । क्षमापूजाको सबै खर्च सरकारले व्यहोर्ने बताइएको छ ।

दोलखा भीमेश्वरको शीलामा गत साउन ५ गते र लगत्तै साउन ९ गते पनि पसिना आएको थियो । भीमसेनको शिलाको बायाँ भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । शीलाको दायाँ भागबाट पसिना आउँदा भने शुभ संकेत मानिन्छ । गत साउन ५ गते शिलाको बायाँ भागबाट र ९ गते शिरबाट पसिना आएको थियो ।

यसअघि वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ मा भीमसेनको शिलाको बायाँ भागबाट पसिना आएको थियो ।

यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरूको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको छ । भीमेश्वर मन्दिर व्यवस्थापन समितिको तर्फबाट दुई जोर कालो बोकासमेत बली दिइएको थियो ।


Author

थप समाचार
x