राजनीति

समाजमा विद्यमान कुप्रथा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्‍चारमन्त्री गुरुङ

इकागज |
साउन १५, २०८१ मंगलबार १४:२९ बजे

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा र रूढिवादी परम्पराको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चारमन्त्रीले सबै प्रकारका विभेद र कुसंस्कारको अन्त्य गर्दै आधुनिक समाज निर्माणका निम्ति वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले रूढी परम्परा र अन्धविश्वासको अन्त्यका लागि ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिएको बताए ।


सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सामाजिक कुरीति अन्त्य गर्न समाजका सबै वर्गको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भने, 'बोक्सी प्रथालाई पूर्णरूपमा अन्त्य गर्न सरकार पूर्ण प्रतिबद्ध छ । सती प्रथा सकियो तर यसको धङधङी अहिले पनि नेपाली समाजमा बाँकी छ ।' उनले मुलुक राजनीतिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरे पनि आर्थिक रूपमा धेरै पछाडि रहेको वास्तविकता औंल्याए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले हलिया, छाउपडी, हरुवाचरुवा  र कमलरी प्रथालाई पनि पूर्णरूपमा अन्त्य गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले बोक्सी प्रथामा आधारित चलचित्र ‘अग्निदहन’ को पोष्टर पनि सार्वजनिक गरे ।


Author

थप समाचार
x