खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री
काठमाडौँ- कृषिप्रधान नेपाली संस्कृतिअनुरूप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेढ घन्टा स्रष्टा कलाकारसँग व्यतीत गरे ।
नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागद्वारा सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमिगतकालीन एक साथीको कृति लोकार्पण पनि गरे ।
प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारसँग खीर खाने कार्यक्रमसहित हरेक साउन १५ गतेको भेटघाटको विगतका क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गरेका थिए । कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उनका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउनसक्ने बताए । आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रुपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाए ।
'पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेँडोभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो,' प्रधानमन्त्री ओलीले भने, 'कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईँका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।'
एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भने, 'शाक्यजी साहसिक रूपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईंको स्वास्थ्यका बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भुमरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।'
समाजमा उन्नत चेतनाको विकास, परिवर्तनको आकाङ्क्षा निर्माणका लागि लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, रामेश, रायन, मञ्जुल, श्याम तमोट, जेबी टुहुरे आदिका रचना र गायनहरू सार्थक रहेको उल्लेख गरे ।
कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शाक्यका संस्मरणले परिवर्तनका लागि भएका सङ्घर्षको अभिलेखीकरण गरेको बताए । सो विभागका प्रमुख रघुजी पन्तले कवि नरेश शाक्यका कवितामा भावको उच्च रुप पाइने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले भूमिकालमा सङ्घर्षपूर्ण जीवन भोगेर कवि शाक्यले साहित्य र सामाजिक क्षेत्रमा योगदान दिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया