राजनीति

भारतको बदमासीका कारण लाइसेन्स प्रणालीमा समस्या: मन्त्री दाहाल

इकागज |
साउन १६, २०८१ बुधबार १६:२४ बजे

फाइल फाेटाे

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सको बदमासीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएको बताएका छन् । 

सिंहदरबारमा बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले नेपालको विद्युतीय लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीदेखि प्रिन्टिङसम्मको गर्दै आएको भारतीय भेन्डरका कारण देखिएको समस्या समाधान भइसकेको समेत जानकारी दिए । 


अघिल्लो बर्षको बेरुजुका कारण भेन्डरलाई केही रकम भुक्तानी दिन बाँकी रहेको अवस्थामा त्यसैलाई आधार बनाएर मद्रास सेक्युरिटीले अनलाइन प्रणाली नै अवरुद्ध गर्ने गरेको उनको भनाइ छ ।

यातायातको अनलाइन प्रणाली र सवारीचालक अनुमतिपत्र छपाइको कामलाई दिर्घकालीनरुपमा नै समस्यामुक्त बनाउने प्रयास भइरहेको मन्त्री दाहालले बताए । उनले यातायात नीति अघि बढेको भन्दै त्यसका आधारमा आवश्यक ऐनहरू बनाउँदै समस्या समाधान गर्ने जिकिर गरे । 

त्यस्तै मन्त्री दाहालले पूर्वाधार निर्माणलाई प्रभावकारी बनाउनका लागि खरिद ऐन व्यवस्थित गर्नुपर्ने अवस्था देखिएको धारणा राखे । उनले नागढुङ्गा सुरुङ मार्गलाई समयमा नै निर्माण गर्ने गरि काम अघि बढिरहेको र नागढुङ्गा–मुग्लिङ सडक खण्डमा देखिएका समस्यालाई पनि समाधान गर्ने प्रतिबद्धता जनाए । उनले राजमार्गहरूमा रहेका जोखिमयुक्त पुलहरूको पहिचान गरि नयाँ पुल बनाउने गरि कार्ययोजना तयार गरिएको जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले नागढुंगा सुरुङमार्ग र मुग्लिङ सडक खण्डको स्थलगत निरीक्षणका क्रममा देखिएका समस्याका बारेमा अवगत गराएका थिए । उनीहरुले पूर्वाधार निर्माणका क्रममा देखिएका समस्याहरूमा गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 


Author

थप समाचार
x