लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन : गृहमन्त्री लेखक
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले 'सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता' विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरूले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताए ।
'फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ? रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुन बमोजिम चल्छ भन्ने मेरो आग्रह छ,' उनले भने, 'कुनै मुद्दा चलेको छ भने पनि कानुन बमोजिम छुट्छ । भन्ने मेरो आधारभूत मान्यता हो ।'
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । 'यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,' उनले भने, 'समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।'
त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।
'कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाँही सामान्यतया अवधि तोकेको हुन्छ । तर, कहिलेकाँही अवधिभन्दा पहिले पनि हुन्छ,' मन्त्री लेखकले भने, 'जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढे लेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनुपर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?' उनले यो प्रक्रियालाई सामान्य रूपमा लिन आग्रह समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया