बागमती नदी प्रणाली, स्मार्ट सिटी, फाेहाेरमैला व्यवस्थापनमा छिट्टै नतिजा देखिने छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फाेहाेरमैला व्यवस्थापनलगायकाे क्षेत्रमा छिट्टै नतिजा देखिने गरी मन्त्रालयले काम गरिरहेकाे बताएका छन् । आज काठमाडौँ उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।
मेयर्स फाेरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिँदै स्मार्ट सिटि, सडक बत्तीकाे महसुल, बागमतीलगायतकाे विषयमा ध्यानाकर्षण समेत गराएकाे थियाे । साे क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने भन्दै छिट्टै नतिजा देखिने गरी काम भइरहेकाे बताए ।
भेटमा मेयर्स फोरमले वर्षाैँदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेकाे थियाे । सो क्रममा उपप्रधानमन्त्री सिंहले साे समस्या छिट्टै समाधान हुने बताए । उनले भने, ‘स्मार्ट सिटिका लागि जग्गा राेक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरी मन्त्रालयले काम अघि बढाएकाे छ ।’
त्यस्तै, मेयर्स फोरमले सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नगरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्वभित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बिलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताए । ‘तपाईँहरूले सडक बत्तीको महसुलको विषयमा कुरा उठाउनुभयो । ऊर्जा मन्त्रालयसँग छलफल गरेर तपाईँहरूको भावनाअनुसार मन्त्रालयले भूमिका खेल्छ,’ उनले भने ।
मेयर्स फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।
त्यस्तै, उपप्रधानमन्त्री सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताए । जनप्रतिनिधिहरूको प्रतिनिधित्व बढ्ने गरी प्राधिकरणलाई समयसापेक्ष बनाइनेमा ढुक्क हुन उनले आग्रह गरे ।
त्यस्तै, उनले स्वच्छ उपत्यका र सफा बागमती बनाउनु आफ्नो प्राथमिकता रहेको भन्दै खोलामा सिधै ढल बन्द गर्न के गर्नुपर्छ ? त्यसका लागि मिलेर काम गर्नका लागि पनि आग्रह गरेका छन् । ‘उपत्यकाको नदी नाला स्वच्छ गर्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्ययोजना बनाएर काम गर्नुपर्छ,’ उनले भने, ‘स्थानीय सरकारले यसका लागि काम गर्दा कतै अवरोध छ भने शहरी विकास मन्त्रालय सहजीकरणका लागि सधैं तयार छ ।’ उनले सुकुम्बासी समस्या समाधानका लागि पनि उपत्यकाका स्थानीय तहसँग मन्त्रालयले संयुक्त रूपमा काम गर्न आग्रह गरे ।
काठमाडौँ उपत्यका मेयर्स फाेरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया