राजनीति

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

इकागज |
साउन १८, २०८१ शुक्रबार २०:२३ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । 


पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी विकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् ।

देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी विकास कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

को हुन् राज्यमन्त्री चौधरी ? 

नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् । उनले नेकपा एमालेका  झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका थिए । 

२२ बर्षको उमेरमा २०६२/०६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी सुदुरपश्चिममा लोकप्रिय सांसदका रुपमा चिनिन्छन् । राजनीतिमा जनताप्रति उत्तरदायी भएर निरन्तरता लाग्ने हाे भने जनताकाे मन जित्न सकिन्छ र अवसर पनि पाउन सकिन्छ भन्ने गतिलो उदाहरण हुन्, चाैधरी ।

उनी २०७४ सालमा कैलालीकै लम्कीचुहा नगरपालिकाको मेयरको उम्मेदवार भए । तर, जनप्रतिनिधि बन्न पुग्ने जनमत पाउन सकेनन् । करिब ५ सय मतान्तरले उनले चुनाव हारे । हारलाई पनि सफलता मान्ने गरेका चौधरी पुनः २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बने । त्यस पटक पनि निर्वाचित हुन सकेनन् । 

उनी भन्छन्, 'हारजित मेरो लागि ठूलो कुरा हैन, थिएन । त्यसैले म कलेज पढ्ने उमेरदेखि मेरो पुर्ख्यौली, पारिवारिक पेसा र व्यवसायलाई पाखा लगाउँदै मेरो समाज र देशका लागि केही गर्छु भनेर २०६२/०६२ को आन्दोलन देखि नै लागेको मान्छे हुँ । आन्दोलन भनेको जनआन्दोलन मात्रै हैन, म मेरो समाज परिवर्तन गर्ने, विकास गर्ने र सम्बृद्ध बनाउने आन्दोलनमा अत्यन्तै संघर्षरत यात्रा निरन्तर गर्दै आएको मान्छे हुँ । अन्ततः मेरो जनताप्रतिकाे इमान्दारिता र समाजप्रतिको जिम्मेवारी वहन गर्ने शैलीलाई अनुमाेदन गरेर नागरिकहरूले यहाँसम्म ल्याउनु भएको छ ।' 

समाज परिवर्तनको आफ्नो आन्दोलन मृत्यु पर्यन्त रहने उनी बताउँछन् । 'मेरो  लागि मन्त्री बन्नु ठूलो कुरा हैन । तर, हिजो आम नागरिक भएर, एउटा अभियन्ता भएर, एउटा राजनीतिज्ञ हुँदै सांसद भएर पनि जनताकै मनोभावना, चाहना र आकांक्षा सँगसँगै राज्यको समग्र विकास र आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर आफ्नो ठाउँबाट काम गरिरहेको मान्छे हुँ,' उनी भन्छन्, 'अब मन्त्रीको कुर्सीमा बसेर मैले मेरो अधिकार र प्रचलित कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमान्दार पूर्वक आम जनताका पक्षमा बफादार भएर अधिकतम काम गर्नेछु ।'


Author

थप समाचार
x